नेपालको भूमि चीनविरुद्ध प्रयोग हुनेछैन : सभापति देउवा


काठमाडौँ
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जिकिर गर्दै नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन नदिने बताउनुभएको छ ।
सभापति देउवाले सोमबार नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा जिपी कोइराला फाउण्डेसनद्वारा काठमाडौँमा आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन कार्यक्रममा नेपालको भूमि चीनबिरुद्ध प्रयोग हुन नदिने स्पष्ट पार्नुभएको हो । उहाँले दुई मुलुकबीचको सांस्कृतिक, आर्थिक, सामाजिक र ऐतिहासिक साझेदारी सधैँ मजबुत रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्यलगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो । साथै उहाँले चीनले आगामी दिनमा पनि नेपालको विकासमा थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले नेपालको विकास प्रयासमा चीन सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपालको आर्थिक विकासमा चीनको बीआरआईले ठूलो टेवा दिने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा दुई देशबिचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्नुभयो । चिनियाँ राजदूत सोङले सन् १९५९ मा नेपालका तत्कालिन प्रधानमन्त्री बीपी कोइरालाले चीनको भ्रमण गरेको र सन् १९६० मा चिनियाँ प्रधानमन्त्री चाओ एन लाई र उपप्रधानमन्त्री चेन यीले नेपालको भ्रमण गरेको स्मरण गर्नुभयो ।
कार्यक्रममा नेपाल चाइना फ्रेन्डसीप फोरमका अध्यक्ष कल्याणराज शर्माले नेपाल(चीनबीच विभिन्नस्तरमा भइरहने नियमित भ्रमणहरूले परम्परागत सम्बन्धलाई सुदृढ बनाउँदै आपसी विश्वास, सम्मान, समझदारी र सहयोगमा आधारित सम्बन्धलाई थप बलियो बनाएको बताउनुभयो ।


कार्यक्रममा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा ‘मैत्री सम्बन्धको विरासत स् क्यामेराको लेन्सबाट ७० वर्षे नेपाल–चीन सम्बन्ध’ शीर्षकमा दुई देशबीचको ऐतिहासिक सम्बन्ध झल्काउने दुर्लभ तस्वीरहरूको प्रदर्शनी गरिएको थियो।