घर जोगाउन र जोड्न गरिने संघर्षको कथा


सामाजिक कथाको फिल्म के घर के डेरा: घर नं २ को राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।
ट्रेलरमा घर र डेराबीच अन्तर प्रस्तुत गर्दै घर मोहले निम्त्याएको समस्या प्रष्ट देखाइएको छ।

घर जोगाउन र जोड्न युवा पुस्ताले गरेको संघर्ष तथा त्यसले सिर्जना गरिरहेको नकारात्मक पक्षलाई ट्रेलरमा देखाइएको छ। ट्रेलरले २३ घण्टामै १० लाख भ्युज पाएको छ भने साढे तीन सय कमेन्ट र ११ हजार लाइक पाएको छ। ‘हामीलाई ट्रेलरमार्फत जसरी दर्शकले माया दर्शाउनु भएको छ, यस्तै माया हलमा पनि पाउने अपेक्षा गरेका छौँ,’ फिल्मका निर्देशक दिपेन्द्र के खनाल भन्छन्।
पशुपतिप्रसाद, आमा, चिसो मान्छेजस्ता सफल सोसल ड्रामाका निर्देशक दिपेन्द्र के खनालद्वारा निर्देशित फिल्ममा घर र डेराबीचको फरक बसाइले जीवनमा पारेको प्रभावको कथा भन्नेछ। घर र डेराकै कारण जतिसुकै उच–निच व्यवहार भए पनि अन्ततः त्यसको प्रभाव जीवनको अन्त्यमा के पर्छ यसबारे के घर के डेरा: घर नं २ ले भन्ने निर्देशक खनालले बताए। आगामी जेठ २ गते रिलिजमा आउने फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको ब्यानरमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जनद्वारा निर्मित फिल्ममा कृष्णबहादुर थापाको छायांकन रहेको छ। युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल, निश्चल बस्नेत, हरिहर शर्मा, रमेश बुढाथोकी, उपासना सिंह ठकुरी, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, सज्जन श्रेष्ठ, गौरव विष्ट, शंकर आचार्य, बालकलाकार रुविना घिमिरेलगायतले अभिनय गरेका छन्।