काठमाडौं ।
आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्काएर पठनपाठन गराउने वातावरण बनाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।
सर्वोच्चले बिहीबार तीन दिनभित्र शिक्षकको जायज माग पूरा गर्न तथा शिक्षकहरुलाई पनि विद्यालय फर्किएर पठनपाठन सुचारु गराउन आदेश दिएको हो । न्यायाधीश नहकुल सुवेदीको इजलासले सरकार र शिक्षक दुवै पक्षलाई समस्या समाधान गर्न आदेश दिएको हो । साथै विद्यार्थीको पढ्न पाउने हकको सुनिश्चित गर्न सर्वोच्चले सरकार र शिक्षक दुवैलाई बाध्यकारी आदेश दिएको छ ।
‘शिक्षकका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरु विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू’ –आदेशमा भनिएको छ । तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण एसईई बोर्डको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्थाको सिर्जना हुन नदिन पनि सर्वोच्चले भनेको छ ।
कक्षा १२ को परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको भन्दै आदेशमा उक्त परीक्षा समयमै गर्न र नसार्न पनि भनिएको छ । आदेश प्राप्त भएको मितिले चौथो दिन आदेश कार्यान्वयनको प्रगति सम्बन्धमा प्रतिवेदन पेस गर्न पनि सर्वोच्च अदालतले शिक्षा मन्त्रालयलाई आदेश दिएको छ ।
अधिवक्ताद्वय श्रवणकुमार चौधरी र माधवराज शर्मा पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय संसद् सचिवालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
शिक्षकहरू गत चैत २० गतेबाट काठमाडौं केन्द्रित आन्दोलनमा छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित उनीहरूले प्रदर्शन जारी राख्दै आएका हुन् । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा सारेर २१ वैशाखमा पु¥याइएको छ । अझै पनि परीक्षा हुने नहुने अन्योल रहेकोमा सर्वोच्चको आदेशसँगै अब भने परीक्षा नसर्ने निश्चित भएको छ । शिक्षक र सरकारी पक्षबीच पटकपटक वार्ता भइरहेको भए पनि सफल हुन सकेको थिएन ।
यस्तो छ दुवै पक्षलाई सर्वोच्चको बाध्यकारी आदेश
–शिक्षकका जायज माग तत्काल सम्बोधन गर
–शिक्षकहरु ३ दिनभित्र फर्किएर पठनपाठन शुरु गर
–विद्यार्थीलाई पठनपाठन गर्नबाट वञ्चित नगर
–एसर्ईईको परीक्षाफल सययमा नै प्रकाशन गर्ने वातावरण बनाऊ
–कक्षा १२ को परीक्षा तोकिएको सयमा गर, सो परीक्षा सार्न नलगाऊ











प्रतिक्रिया