ताप्लेजुङ ।
ताप्लेजुङमा सोमबार बिहान एक दर्दनाक सडक दुर्घटनामा चार जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । पाथीभरा मन्दिरको दर्शन गर्न जाँदै गरेको बोलेरो गाडीमा करेन्ट लागेर आगलागी भएपछि यो भीषण दुर्घटना भएको हो ।
दुर्घटनाको कारण सडकमा लत्रिएको विद्युत्को तार रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार दुर्घटना फुङलिङ नगरपालिका–९ स्थित सेवारो चोकनजिक बिहान करिब ५ बजे भएको हो । यात्रुहरू बोकेर पाथीभरा मन्दिरतर्फ जाँदै गरेको मे१ज ३०११ नम्बरको बोलेरो गाडी सडकमा लत्रिएको विद्युत्को तारमा छोएपछि गाडीमा करेन्ट प्रवाह भएर आगलागी भएको हो । गाडीमा अचानक आगो लागेपछि त्यसमा सवार व्यक्तिहरू उम्कन नपाउँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
मृत्यु हुनेमा गाडीका चालक ४२ वर्षीय दुर्गा भट्टराई, ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका–१५ निवासी ७० वर्षीय विनोद पौडेल र उहाँकी श्रीमती ६९ वर्षीया सरिता पौडेल रहेका छन् । सवारी चालक दुर्गा भट्टराई ताप्लेजुङकै स्थानीय बासिन्दा हुनुहुन्छ । ललितपुर महानगरपालिका–१० निवासी ४५ वर्षीया सविना आचार्य गम्भीर घाइते हुनुभएको छ भने उहाँका १० वर्षीय छोरा भविमय आचार्य पनि घाइते हुनुभएको छ । घाइते आमाछोरालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित हेम्स अस्पतालमा लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख रवि रावलका अनुसार दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । आगलागी नियन्त्रणमा लिएर गम्भीर घाइतेहरूलाई उद्दार गरिएको थियो भने मृतकहरूको शव परीक्षणका लागि अस्पताल पठाइएको छ । दुर्घटनाले ताप्लेजुङको पाथीभरा जाने बाटोको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ । पाथीभरा पूर्वी नेपालको एक प्रमुख धार्मिक स्थल हो जहाँ हरेक वर्ष हजारौं तीर्थयात्री पुग्ने गर्छन् । त्यस क्षेत्रमा सडक छेउमा लत्रिएका तारहरू यात्रुहरूका लागि खतराको संकेत बनेका छन् ।
स्थानीयबासी विद्युत् प्राधिकरणप्रति आक्रोशित देखिएका छन् । समयमै तारहरूको अनुगमन र मर्मत नभएकाले यस्तो दुर्घटना भएको हो । यसअघि पनि त्यही क्षेत्रमा यदाकदा लत्रिएका तारले जोखिम सिर्जना गरेका थिए, तर गम्भीर दुर्घटना नघटेकाले ध्यान दिइएको थिएन । पाथीभरा क्षेत्र विकास समितिले घटनाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले भन्नुभयो– ‘पाथीभरा आउने तीर्थयात्रीहरूका लागि यस्तो घटना निकै दुर्भाग्यपूर्ण हो ।
विद्युत् प्राधिकरण ताप्लेजुङका प्रमुख सुरेशकुमार चौधरीका अनुसार, चट्टयाङका कारण विद्युतको तार लत्रिएको थियो । गाडीको हुटले लत्रिएको तार छोएपछि विद्युत् प्रवाह भएर आगलागी भएको चौधरीले स्पष्ट पार्नुभयो । भवितव्य घटना भएको उल्लेख गर्दै उहाँले यस्ता दुर्घटना रोक्न नियमित अनुगमन र सुरक्षाको उपाय अवलम्बन गर्ने बताउनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।











प्रतिक्रिया