शिलान्यास बहिस्कार गर्ने मेयर रेणु अन्ततः भरतपुर सडकको उद्घाटनमा


चितवन ।

 भरतपुरमा नवनिर्मित ६ लेनको सडक उद्घाटन गरिएको छ।

 हालै ६ लेनमा विस्तारित गरिएको पुलचोक–गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका हुन् ।

सो उद्घाटन समारोहमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल तथा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

 सो सडक निर्माण शिलान्यास कार्यक्रम बहिस्कार गरेकी भरतपुरकी मेयर दाहाल उद्घाटन समारोहमा भने उपस्थित भएकी छिन् ।

 तेस्रो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७७ माघ १७ मा यो सडकको शिलान्यास गरेका थिए, जहाँ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भने अनुपस्थित भएकी थिइनन् । त्यस बेला ओलीले ब्यंग्य गर्दै भनेका थिए, ‘मेयर साहेब, यता नआएर पिकनिक खान जानु भएछ ।’

 १ अर्ब १३ करोड रूपैयाँको लागतमा विस्तारको काम पूरा भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ ।