ललितपुर ।
संस्कृति शिरोमणि हरिराम जोशीद्वारा स्थापित जोशी रिसर्च इन्स्टिच्युटले यस वर्षको हरिराम जोशी पुरस्कार–२०८१ अनुसन्धानकर्ता इन्जिनियर पद्मसुन्दर जोशी र कदम पुरस्कार अभिलेखविद् डा. श्यामसुन्दर राजवंशीलाई प्रदान गरिएको छ ।
इन्स्टिच्युटले बिहीबार पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा एक समारोहको आयोजना गरी उक्त पुरस्कार प्रदान गरिएको हो ।
दुवै पुरस्कारको नगद राशि जनही २५ हजार रुपियाँ रहेको छ । जीवनभर इतिहास, संस्कृति, धर्म, दर्शनको अनुसन्धानमा सक्रिय संस्कृति शिरोमणि हरिराम जोशीले स्थापना गर्नुभएको संस्थाले संस्कृति संरक्षण र सम्बद्र्धनको कार्यमा लाग्नेहरूलाई गत चार वर्षदेखि पुरस्कार दिँदै आएको छ । गत वर्ष हरिराम जोशी पुरस्कार प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ र कदम पुरस्कार साहित्यकार तथा कवि मोहन दुवाललाई प्रदान गरिएको थियो ।
सम्मान कार्यक्रममा मन्तव्य राख्दै नेपाल भाषा अकाडेमीका चान्सलर तथा लेखक एवम् मानव अधिकारवादी मल्ल के सुन्दरले सम्मानित हुने दुई व्यक्तित्व नेपालको इतिहास र सम्पदामा उल्लेखनीय योगदान पु¥याउने प्रतिनिधि पात्र रहेको बताउनुभयो ।
संस्कृति शिरोमणि हरिराम जोशीले यो संस्था आफ्नो पिता भारतराम जोशीको स्मृतिमा २०३७ सालमा स्थापना गरेको इन्स्टिच्युटले नेपाली संस्कृति, इतिहास, धर्म सम्बन्धी ४० वटाभन्दा बढी पुस्तक प्रकाशित गरेको जानकारी दिनुभयो।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले नेपाली संस्कृति र इतिहासको खोजीमा संस्कृति शिरोमणि हरिराम जोशीको अध्ययन अनुसन्धान महत्वपूर्ण भएको बताउनुभयो । उहाँले संस्कृति शिरोमणि हरिराम जोशी राष्ट्रको अमूल्य निधि भएको जानकारी गराउँदै जोशीले स्थापना गरेको संस्थाले गरेको कार्य सांस्कृतिक जागरणको सकारात्मक काम भएको धारणा राख्नुभयो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले अध्ययन अनुसन्धान गर्दै जाँदा नयाँनयाँ तथ्य पत्ता लाग्ने भन्दै अध्येताहरूलाई इतिहास र संस्कृति अध्ययन अनुसन्धानमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । सम्मानित व्यक्तित्व इन्जिनियर पद्मसुन्दर जोशीले पाटनको हिटी संरक्षणमा १६-१७ वर्षदेखि काम गरेर आफूले इतिहासको संरक्षण र जीवन्तताका लागि सहयोग पु¥याउने काम गरेको बताउनुभयो ।
समारोहमा इतिहासविद् प्रा.डा त्रिरत्न मानन्धरले नेपालको संस्कृति र इतिहासको क्षेत्रमा गरेको गहन अनुसन्धानलाई कदर गरी प्रदान गरिएको यो पुरस्कारले इतिहास र संस्कृति संरक्षणमा लाग्नेहरूलाई थप प्रेरणा र ऊर्जा प्रदान गर्ने बताउनुभयो ।











प्रतिक्रिया