काठमाडौं ।
चालू आर्थिक वर्षको नौ महिनामा नेपालमा करिब ५८ अर्ब रुपियाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चैत मसान्तसम्मको अवधिमा प्रमाणीकरण (स्वीकृति) प्रणालीमार्फत ५५ अर्ब ७ करोड र स्वचालित प्रणालीमार्फत २ अर्ब ८९ करोड रुपैयाँ गरी कुल ५७ अर्ब ९७ करोड ५४ लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
उक्त अवधिमा विभागमा ४८० उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । तीमध्ये प्रमाणीकरण प्रणालीमार्फत २५६ उद्योगका लागि ५५ अर्ब ७ करोड ७४ लाख रुपियाँको प्रतिबद्धता आएको हो भने स्वचालित प्रणालीमार्फत २२४ उद्योगका लागि २ अर्ब ८९ करोड ७९ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता जनाइएको विभागले जनाएको छ ।
त्यस्तै शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) तथा शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३२ उद्योगमा १ अर्ब ९४ करोड ५० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) भने ५१ उद्योगका लागि स्वीकृत भएको विभागको विवरणमा उल्लेख छ । प्रतिबद्धता अनुसार ४६८ साना, ८ मध्यम र ४ ठूला उद्योगमा लगानी आउने अपेक्षा गरिएको छ । ती उद्योगमार्फत करिब १२ हजार ४३५ जनालाई रोजगारीको अवसर सिर्जना हुने अनुमान गरिएको छ ।
चैत महिनामा मात्रै ५३ उद्योगका लागि १३ अर्ब ३१ करोड ५१ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । त्यसमध्ये प्रमाणीकरण प्रणालीमार्फत २३ उद्योगले १३ अर्ब १७ करोड ४० लाख रुपियाँको प्रतिबद्धता प्राप्त गरेका छन् । बाँकी ३० उद्योगले स्वचालित प्रणालीमार्फत १४ करोड ११ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता जनाएका छन् ।











प्रतिक्रिया