फरार दुर्गा प्रसाईंको भिडियो  : म भागेको छैन , मेरो जीवनको रक्षा हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु


काठमाडौँ। 

राजा फर्काउने अभियानमा लागेका विवादित पृष्ठभूमिका दुर्गा प्रसाईंले आफू कतै भागेर नगएको बताएका छन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा उनी र नवराज सुवेदी नेतृत्वमा भएको प्रदर्शनका क्रममा दुईजनाको ज्यान जाने गरी भएको घटनापछि फरार भएका  दुर्गा प्रसाईंले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै प आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताएका हुन्। 

‘म कहीँ भागेको छैन, भारततिर गएको होइन । म स्वागत नेपाल र टंक दुलालसहितका वकिल र मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छु’, उनले भने, ‘यदि मेरो ज्यानको ग्यारेन्टी हुन्छ भने म २४ घण्टामा सार्वजनिक हुन्छु ।’

उनले चैत १५ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग शान्तिपूर्ण रुपमा आन्दोलनका लागि आफैँले अनुमति मागेको पनि बताए । प्रसाईंले शान्तिपूर्ण गर्ने भन्दाभन्दै प्रहरीले मञ्चमा राष्ट्रिय गान बजेका बेला अश्रुग्यास हानिएपछि तीनकुनेमा हिंसा हुन पुगेको बताए ।

प्रसाईंले चैत १५ को आन्दोलनमा घुसपैठ गरेर हिंसात्मक बनाउन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकजना राजावादी नेताले साँठगाँठ गरेको पनि बताए ।

‘१५ गतेको आन्दोलन भड्काउन ‍‌‌प्रधानमन्त्री ओली, प्रचण्ड र एकजना राजावादीले गोप्य बैठक गरेको सूचना मलाई आएको छ । म अहिले ती राजावादीको नाम लिन्नँ । उपयुक्त समयमा म उनको नाम सार्वजनिक गर्नेछु’, उनले भने ।

भिडियो सन्देशका क्रममा प्रसाईंले तीनकुनेको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको परिवारलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उक्त रकम आफू सार्वजनिक भएलगत्तै हस्तान्तरण गर्ने पनि उनले बताएका छन् ।