काठमाडौं ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा आगामी वैशाखमा आठौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा वैशाख १० देखि १३ गतेसम्म हुने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । पत्रकार सम्मेलनका अवसरमा मुख्य प्रायोजकका रुपमा केएनपी नेरोलेक पेन्टसँग सम्झौता पनि गरिएको थियो ।
पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकका रुपमा प्रतियोगितालाई साथ दिँदै आएको केएनपी नेरोलेकका तर्फबाट कन्ट्री हेड मनोजकुमार मिश्र र आयोजक शेरबहादुर स्मृति प्रतिष्ठानका तर्फबाट संरक्षक गमली खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे । प्रतिष्ठानले यस प्रतियोगिता २०७२ सालबाट नियमित रुपमा गर्दै आइरहेको छ ।
आयोजकले जानकारी गराएअनुसार प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ, न्यु डायमण्ड एकेडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र एभरेष्ट भलिबल क्लब गरी ६ टोलीको सहभागिता रहने जानकारी गराएको छ । विगतका वर्षमा तीन विभागीय टिम र न्यु डायमण्ड एकेडेमी गरी चार टोलीको सहभागितामा प्रतियोगिता हुने गरेको थियो ।
पुरस्कार
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताको भागमा २ लाख ५० हजार रुपैयाँ पर्नेछ । त्यसैगरी तेस्रो हुने टोलीलाई १ लाख २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।
व्यक्तिगत पुरस्कारतर्फ प्रतियोगिताको सवोृत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई २५ हजार रुपैयाँका दरले प्रदान गरिनेछ । यसैगरी प्रत्येक खेलको प्लेयर अफ दी म्याचले १५ हजार रुपैयाँ पाउनेछन् ।
आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले खेलाडी तथा टिमलाई प्रदान गरिने पुरस्कारमा कर कट्टा नगरिने जानकारी गराए । ५० लाख रुपैयाँको बजेट रहेको प्रतियोगितामा १३ लाख रुपैयाँ भन्दा बढि पुरस्कारमा खर्च हुने उनको भनाई थियो ।
अध्यक्ष खड्काका अनुसार प्रत्येक वर्षझै एक जना महिला राष्ट्रिय खेलाडीलाई शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मान गरिने कार्यक्रमले यसपाली पनि निरन्तरता पाउनेछ । नेपाली महिला भलिबलमा विशेष योगदान गर्ने एक जना खेलाडीलाई प्रदान गरिने स्पेसल अवार्डबाट सम्मानित हुनेले नगद ५० हजार रुपैयाँसहित विभिन्न उपहारहरु पाउनेछन् ।
बिमा गरिएको सहभागी सबै खेलाडी, प्रशिक्षक, रेफ्री, अन्य प्राविधिकहरुको प्रतियोगिता सुरु हुनुभन्दा एक दिन अघिदेखि एक दिन पछिसम्मको बिमा पनि गरिएको अध्यक्ष खड्काले जानकारी गराए ।











प्रतिक्रिया