काठमाडौं ।
पत्रकार सुरेश रजकसहित दुई जनाको ज्यानै जाने गरी तीनकुनेमा भएको आगजनी, तोडफोड भएको पाँच दिन बितिसक्दा पनि सरकारले त्यसबारेमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न अग्रसरता देखाएको छैन ।
घटनाको सत्यतथ्य पत्ता लगाउन सत्तारुढ दल, प्रतिपक्ष दल, नागरिक समाज, कानुन व्यवसायी, सञ्चारजगत्लगायत विभिन्न तह तप्काले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिरहँदा सरकारले त्यसबारे चासो नलिएको आरोप लगाइएको छ ।
यस विषयमा बुधबार प्रतिनिधिसभा राज्यव्यवस्था समितिमा सांसदले छलफल गरेका छन् । उनीहरुले चैत १५ गते शुुक्रबार तीनकुनेमा भएको घटनाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने जोड दिँदै त्यसका लागि न्यायिक छानविनको समेत माग गरेका थिए ।
‘तीनकुने घटनाको छानबिनका लागि सरकारले न्यायिक छानबिन समिति बनाउनुपर्ने बताउँदै सरकारको बुझाइ समितिसमक्ष आउनुपर्दछ’ –कांग्रेसका सांसद विश्वप्रकाश शर्माले भन्नुभयो । छलफलका क्रममा तीनकुने घटनामा सरकारको कमजोरी देखिएको भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले माग गर्नुभयो ।
‘घटनामा एकपक्षीय रुपमा राजावादीप्रति खनिएको छ । कार्यक्रम शुरु नहुँदै मञ्चमा अश्रुग्यास प्रहार गरेको देखिएको छ । त्यसले गर्दा निष्पक्ष न्यायिक छानबिन गर्नुपर्दछ’ –राप्रपाका सांसद बुद्धिमान तामाङले भन्नुभयो ।
‘आन्दोलनकारीले यो घटना घटाएको हो कि प्रदर्शनकारीहरू साँच्ची नै अराजक भएर यो घटना घटेको हो भन्ने कुरा सत्यतथ्य बाहिर ल्याउनुपर्दछ । यसो नगरेसम्म कसैमाथि पनि आरोप लगाउन मिल्दैन । दोषारोपण गर्न मिल्दैन’ –वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले भन्नुभयो ।
सरकारको जवाफ माग
छानबिन आयोग गठन गर्न सरकार उदासिन रहेकोलाई मध्यनजर गर्दै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले सो घटनाका विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरुले राजावादीको प्रदर्शनका भएको घटनाका विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि समितिले चैत २२ गते शुक्रबारको बैठकमा गृहमन्त्री रमेश लेखकलाई बोलाउने निर्णय गरेको हो । यसैबीच सञ्चारकर्मीसँगको भेटघाटमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले छानबिन आयोग गठन गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।
मृतकका परिवारलाई जनही १० लाख दिइने
सरकारले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा ज्यान गुमाएका सविन महर्जन र सुरेश रजकका परिवारलाई जनही १० लाख रुपियाँ राहत दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
राजावादी प्रदर्शन उग्र बनेपछि भएको झडपमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टअनुसार महर्जनको शरीरमा गोली लागेको पुष्टि भएको छ भने रजकको शरीरमा गोली नभेटिएको त्रिवि शिक्षण अस्पतालका चिकित्सकले जनाएका छन् । सविनको शवको मंगलबार दाहसंस्कार गरिएको छ भने सुरेश रजकको दाहसंस्कार बुधबार भएको थियो ।
पत्रकार रजकको ६ दिनपछि अन्त्येष्टि
शुक्रबार तीनकुनेमा राजावादीको आगजनीमा परी मृत्यु भएका एभिन्युजका पत्रकार सुरेश रजकको ६ दिनपछि बुधबार अन्त्येष्टि गरिएको छ । पोस्मार्टमपछि स्वयम्भुस्थित शोभा भगवती मन्दिरको घाटमा अन्त्येष्टि गरिएको छ । पत्रकार सुरेशको पार्थिव शरीरमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दाहाललगायतका पदाधिकारीले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
पोस्टमार्टम रिपोर्टमा पत्रकार रजकको जलेर मृत्यु भएको उल्लेख गरिएको परिवारले जनाएका छन् । यसअघि पत्रकार रजकलाई गोली लागेको हल्ला चलेपछि एक्सरेपछि मात्र पोस्टमार्टम गरिएको थियो । अन्त्येष्टिमा सरकारका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । त्यसैगरी एभिन्युज टेलिभिजनका सञ्चालक, पत्रकार लगायत विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूले स्व. पत्रकारको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
बुधबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले आन्दोलनका क्रममा जलेर मृत्यु भएका पत्रकार रजकको परिवारलाई ५ लाख र गोली लागेर मृत्यु भएका सविन महर्जनको परिवारलाई ३ लाख रुपियाँ आर्थिक सहयोग दिने घोषणा गर्नुभएको छ ।
प्रतिक्रिया