एनएमबि क्यापिटललाई उच्च रेटिङ, सरल बचत फण्डको आकार १० अर्ब पुग्ने


काठमाडौँ
ईक्रा नेपाल लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडको फण्ड म्यानेजमेन्ट क्वालिटी रेटिङलाई ‘एफएमक्यूआर एएमसी डबल प्लस’ स्तरमा स्तरोन्नति गरेको छ ।

यसले कोष व्यवस्थापनको गुणस्तर उच्च र विश्वसनीय रहेको संकेत गर्दछ । यससँगै एनएमबि क्यापिटल यस क्षेत्रमा सबैभन्दा उच्च रेटिङ प्राप्त गर्ने कम्पनी बनेको छ ।

एनएमबि बैंक लिमिटेड प्रवद्र्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत हाल तीन बन्दमुखी र एक खुलामुखी योजना सञ्चालनमा छन्। एनएमबि ५० को २०८२ फागुन ३० सम्म खुद सम्पत्ति १ अर्ब ३६ करोड रुपैयाँ र खुद सम्पत्ति मूल्य (एनएभी) १० रुपैयाँ ८६ पैसा रहेको छ ।

त्यस्तै, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को खुद सम्पत्ति १ अर्ब ४९ करोड रुपैयाँ र एनएभी १२ रुपैयाँ २० पैसा रहेको छ भने एनएमबि हाइब्रिड फण्ड एल–२ को खुद सम्पत्ति १ अर्ब ४७ करोड रुपैयाँ र एनएभी १० रुपैयाँ ७५ पैसा रहेको छ ।

खुलामुखी योजना “एनएमबि सरल बचत फण्ड–ई” को खुद सम्पत्ति ४ अर्ब ७३ करोड रुपैयाँ र एनएभी ११ रुपैयाँ १ पैसा कायम रहेको छ । यस योजनामा प्रणालीगत लगानी योजना (एसआईपी) अन्तर्गत ५५ हजारभन्दा बढी लगानीकर्ताको सहभागिता रहेको छ, जुन क्रमशः बढ्दै गएको छ। फागुन मसान्तसम्म ४ अर्ब ७३ करोड रहेको यो फण्डको आकार चैत २६ गतेसम्म ४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

यसैबीच, सो फण्डको आकार १० अर्ब रुपैयाँसम्म पु¥याउन नेपाल धितोपत्र बोर्डबाट २०८२ चैत ८ गते स्वीकृति प्राप्त भएको छ । एसआईपीमा बढ्दो आकर्षण र आकार विस्तारको स्वीकृतिले यस योजनाको पहुँच र प्रभाव अझै विस्तार हुने अपेक्षा गरिएको छ ।