श्रममन्त्री दीपककुमार साह हट्ने संकेत, प्रधानमन्त्री बालेन शाह असन्तुष्ट


काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेको उच्च स्रोतले जनाएको छ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्री साहको कार्यशैली र कामकाजप्रति प्रधानमन्त्री असन्तुष्ट देखिएका छन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ।

हालसम्म औपचारिक निर्णय सार्वजनिक नभए पनि प्रधानमन्त्री कार्यालयभित्र यसबारे छलफल तीव्र भएको बताइएको छ। सरकारको कार्यसम्पादन प्रभावकारी बनाउने उद्देश्यले मन्त्रिपरिषद् हेरफेरको तयारी भइरहेको स्रोतको दाबी छ।

मन्त्री साह फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारका रूपमा निर्वाचित भएका थिए।

शैक्षिक रूपमा उनी सक्षम व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’ रहेका छन् भने लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी, प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन्। साथै, इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थ र अप्टोमेट्रीमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी अध्ययन गरेका छन्।

उनी नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्षसमेत रहेका छन्।

यद्यपि, मन्त्री परिवर्तनबारे आधिकारिक पुष्टि हुन बाँकी छ।