भैँसी–पालन ‘राष्ट्रिय गौरव आयोजना’ घोषणा जरुरी

1.6k
Shares

नेपाल सरकारले तत्काल गर्नुपर्ने युगान्तकारी कुनै काम छ भने नेपालमा राँगा–भैँसी पालनलाई उद्योगको रूपमा विकास गर्ने व्यापक पूर्वाधार भएकाले ‘राँगाभैँसी पालन– राष्ट्रिय गौरव आयोजना’ को घोषणा र कार्यान्वयन नै हो । यसबाट नेपाल र नेपालीको स्वनिर्भर र स्वनिर्माणको राजमार्ग खुल्नेछ ।

आज पनि नेपालका बहुसङ्ख्यक जनता कृषिक्षेत्रमा निर्भर छन् । कुल जीडीपीको एक तिहाइ हिस्सा यो क्षेत्रको रहेको छ । नेपाल कृषिप्रधान मुलुक हो । मानव जातिको जीवनयापनको मुख्य आधार पनि कृषिकर्म तथा पशुपक्षी पालन हो । तर सरकार सञ्चालकहरूले भने यसलाई स्वीकार गरेर यो क्षेत्रको प्रवद्र्धन गरेका छैनन् । राजनीतिक पार्टीहरू निर्वाचनमा जाँदा यस क्षेत्रलाई विकास गर्न केही न केही भनिरहेका हुन्छन् तर सरकारमा गएपछि बिर्सन्छन् । यो सरकारको सयबुँदे प्रतिबद्धतापत्रमा उत्पादन र स्वनिर्भर हुने योजना छुट्नु सामान्य विषयको रूपमा बुझ्नुहुँदैन ।

समय छ, यसलाई सरकारले नछुटाई काम गर्न सकोस् । यसका लागि लामो समयदेखि यस क्षेत्रमा काम गरिरहेका व्यवसायी, अध्येता र अभियन्ताहरू रहेको अधिकार सम्पन्न आयोगको गठन गर्नुपर्दछ । टिके, झोले, आसेपासे प्रथाको अन्त्य गरिनुपर्छ, जसले गर्दा प्रतिफलमुखी काम हुन सकोस् ।

नेपालीको जीवनयापनको प्रमुख पक्ष कृषि तथा पशुपालन नै हो । यस क्षेत्रको व्यावसायिक विकास गर्न आन्तरिक खपतलाई पूरा गर्दै निर्यातको स्तरमा पु¥याउन हामीले प्रयास गरेका हौँ । व्यवसायीको पहल र प्रधानमन्त्रीको नेतृत्वमा २०८१ मंसिर १८ गते चीनमा पहिलो ९ बुँदे सम्झौता हुन सक्यो । यो सम्झौताको बुँदा नं. ४ मा ‘थर्मल प्रोसेस बफेलो मिट’ रहेको छ । यसबाट अब प्रक्रिया पूरा गरेको मासु नेपालबाट निर्यातको बाटो खुलेको छ । नेपालमा व्यावसायिक राँगाभैँसी पालन तथा यसमा आधारित अन्य उत्पादनका क्षेत्रहरूको ठोस आधार निर्माण भएको छ । यसबाट अर्बौंको आन्तरिक खपत पूरा भई निर्यात हुने, पूर्ण रोजगारको अवस्था तयार हुन गई अर्थतन्त्र बलियो बन्ने देखिन्छ ।

किन राष्ट्रिय गौरव आयोजना भन्ने ?
राँगाभैँसी पालन बहुआयामिक लाभको क्षेत्रलाई पूँजीकृत गर्नका लागि हो । नेपालमा आजसम्म पशुपालन जीवन निर्वाहका लागि मात्र हुने गर्दथ्यो । भैँसी पालन दूधका लागि हुने गर्दथ्यो । यसको व्यावसायिक उत्पादन हुन सकिरहेको थिएन । अब भने यसको व्यावसायिक उत्पादन र बजारको सुनिश्चितता भएको छ । पशुपालन एक कार्यबाट अनेक उद्योगहरू स्थापना र विकास हुने अवस्थाहरू सिर्जना हुन्छन् । यसलाई यहाँ बुँदागतरुपमा उल्लेख गरिन्छ ः

– नेपालमा उत्पादन भएका राँगाभैँसीको मासु चीन सरकारले किनिदिने नीतिगत सहमति गरेको छ । यसपछि कारोबारको व्यावसायिक सम्झौता जियान फूड र हिमालयन फूडबीचमा भएको छ । दैनिक कम्तीमा ५ हजार राँगा नेपाली किसानसँग खरिद गर्ने सम्झौता भएको छ । यसका लागि २ सय मिलियन डलर हिमालयन फूडका लागि जियान फूडले लगानी गर्ने सम्झौता छ । मासु प्रशोधन केन्द्र निर्माणका लागि २० अर्ब नेपाल भित्रिइसकेको छ । नेपाल सरकारले खोरेत रोगमुक्त क्षेत्र घोषणा गरी मरिण गाउँपालिकामा जग्गा खरिद र प्रशोधन केन्द्र तथा यसका लागि आवश्यक पूर्वाधार निर्माणको काम अगाडि बढाइरहेको छ ।

दैनिक ५–९ हजार जनावर आवश्यक पर्ने उद्योगका लागि चाहिने कच्चा पदार्थको आपूर्तिका लागि देशभरि नै पशुपालनको योजना बनाई अगाडि बढ्नुपर्नेछ, जसले गर्दा देशको राष्ट्रिय आयमा गुणात्मक परिवर्तन आउनेछ ।

-कृषि जनगणना २०७८ अनुसार नेपालमा कुल ६६ लाखभन्दा बढी घरधुरीमध्ये ४१ लाख बढी घरधुरी किसान छन् । त्यसमा ३९ लाख बढी घरधुरी कृषिजन्य पेसामा निर्भर छन् । अर्थात् कुल जनसंख्याको ६६ प्रतिशतभन्दा बढी जनसंख्या आज पनि कृषिमा आधारित जीवनयापन गरिरहेका छन् । उनीहरू पटके कृषि तथा पशुपालनमा छन् तर व्यावसायिक हुन सकिरहेका छैनन् । उनीहरू सबै एकैपटक व्यवसायी बन्ने आधार बन्यो भने नेपाली किसान तथा राष्ट्रको आम्दानी ठूलो स्तरमा वृद्धि हुने सुनिश्चित छ ।
– तथ्याङ्कअनुसार नेपाली किसानको घरमा अहिले ३५ लाखको हाराहारीमा राँगाभैँसी रहेका छ । मासुका लागि राँगाभैँसी पालन कार्यक्रम शुरू हुनासाथ अर्थात् व्यावसायिक लाभको सुनिश्चितता हुनासाथ यसको संख्या चौबर हुने निश्चित छ । यसमा व्यावसायिक पालन भएपछि नेपाल एक राँगाभैँसी पालनको ‘हब’ हुने निश्चित छ ।

– अहिले नेपालमा खपत हुने कृषि तथा पशुजन्य उपभोग्य वस्तुहरू ९० प्रतिशतभन्दा बढी आयात हुने गर्दछ । यो आयोजना प्रारम्भ भएपछि आन्तरिक मागको परिपूर्ति हुनुका साथै निर्यात हुने आधारको सुनिश्चितता हुन्छ ।
– दूधका लागि मात्र पालन गरिएका राँगाभैँसीहरू अब दूध, मासु, मलका लागि पालिने र उद्योगकै रूपमा विकास हुने हुन्छ ।

-नेपालमा आज पनि दूध तथा दुग्धजन्य पदार्थ विदेशबाट आयात गर्नुपर्ने अवस्थामा यसबाट देशको आवश्यकता पूरा गरी निर्यातको अवस्था सिर्जना गर्न सक्ने हुन्छ ।

– यसका लागि ठूलो मात्रामा पोषिलो घाँसको आवश्यकता पर्ने हुँदा घाँसको व्यावसायिक उत्पादन, प्रशोधन उद्योग स्थापित हुने निश्चित छ ।
– जनावरको मलमूत्रबाट जैविक मल उत्पादन गरी समग्र कृषि प्रणालीलाई नै जैविक उत्पादन प्रणालीमा रूपान्तरण गरी स्वच्छ, स्वस्थ र गुणस्तरीय जीवनयापनको आधार निर्माण हुन्छ ।

– प्रशोधनशालाबाट मासुसहित कुखराको दानाको आधार, छाला, हड्डीलगायतका अतिरिक्त तर अति आवश्यक पदार्थहरूको उत्पादन भई त्यसमा आधारित उद्योगहरू स्थापना हुने सम्भावना हुन्छ ।
– नेपाल र नेपालीहरूको स्वनिर्भर र स्वनिर्माणको आधारशिला बन्छ ।

यी यावत् कारणले नेपालको समृद्धिका लागि ‘राँगाभैँसी पालन राष्ट्रिय गौरव आयोजना’ घोषणा गरिनुपर्छ । यसो गर्नका निम्ति नेपाल सरकारलाई कुनै प्रकारको ठूलो दायित्व बढ्दैन । किनभने नेपालका ७७ वटै जिल्ला तथा ७५३ वटै स्थानीय पालिकाहरूमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सञ्जाल पुगेको छ ।

जसका कारण पहाडी क्षेत्रहरूलाई खोरेत रोग नियन्त्रण र उन्मूलन भएको क्षेत्र घोषणा गर्न सकिन्छ । तराईका जिल्लाहरूमा सुरक्षित पालन गर्न सकिन्छ । यो क्षेत्रबाट आम्दानीको सुनिश्चितता हुने देखिएपछि व्यवसायी तथा बैंंकहरूको चासो र लगानी बढ्ने हुन्छ । बेरोजगारहरूलाई एउटै निर्णयले रोजगार बनाउन सक्छ र आम्दानीको क्षेत्रको नजिक पु¥याइदिन सक्छ ।

गरिनुपर्ने काम :
तत्काल नेपाल सरकारले ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ कार्यान्वयनको प्रारम्भ भएको घोषणा गर्नुपर्छ । नेपालमा रहेको खोरेत रोग उन्मूलनको कार्य थालनी गर्ने र उन्मूलन क्षेत्रहरू बनाउँदै जाने काम अविलम्ब गरिहाल्नुपर्छ । यसका लागि थप कानुनी, आर्थिक र व्यावसायिक व्यवस्थापनका आधारहरू तयार गर्नुपर्दछ । अनुदान दिने प्रथाको अन्त्य गरी वास्तविक किसानलाई सहुलियतपूर्ण ऋण प्राप्त हुने अवस्था सिर्जना गर्नुपर्छ ।

किसानमैत्री भूमि व्यवस्था हुनुपर्छ । पशुजन्य रोगहरूको अन्त्यका लागि योजनाबद्ध काम गर्नुपर्दछ । विश्व स्वास्थ्य सङ्गठन, विश्व पशु स्वास्थ्य सङ्गठन तथा अन्तरदेशीय पशुजन्य पदार्थहरूको ओसारपसारका समस्याहरू समाधान गर्नुपर्छ । पोसिलो घाँस उत्पादन र राँगाभैँसीको नश्ल सुधार कार्यक्रम चलाउनुपर्छ । देशभरिका किसानमा पशुपालन तथा यसमा आधारित कार्यहरूमा जागरण दिने कार्यशालाहरू चलाउनुपर्छ । किसान लगानीमैत्री अर्थनीति, मौद्रिक नीति, लगानी नीति बनाई कार्यान्वयन गर्नुपर्छ । यस प्रकारका काममा नेपाल सरकार र निजी क्षेत्रबाट स्थापित ‘बफेलो इनिसिएटिभ नेटवर्क’ ले केही कार्य प्रारम्भ गरिसकेको पनि छ ।

कृषक तथा पशुपालक किसानमध्ये उत्कृष्ट किसानलाई प्रोत्साहन र पुरस्कृत गर्न ‘उत्कृष्ट कृषक तथा पशुपालक किसान छनोट कार्यविधि’ तयार गरी कार्यान्वयन गरिहाल्नुपर्छ । त्यस्तै बिचौलिया किसानको उन्मूलनका लागि सबै तह र क्षेत्रहरूमा किसान सहयोग समितिहरूको भरपर्दो व्यवस्था मिलाउनुपर्छ । जसले किसानलाई बैंकिङ, उत्पादन, प्रशोधन, ढुवानी, बिक्री वितरणमा सहजीकरणको काम गरोस् ।
आवश्यक पूर्वाधार ः
नेपाली समाजका जो–कोही किसानले सजिलै गर्न सक्ने काम भनेको कृषि तथा पशुपालन हो । यसबाट फाइदा हुन्छ भने धेरै व्यवसायी यो क्षेत्रमा भित्रिन सक्छन् । नेपाल भौगोलिक विविधता, जैविक विविधता, पर्यावरणीय विविधतासँगै जनशक्तिको पनि विविधताले सुसज्जित देश हो ।

तराई र पहाडमा सजिलै राँगाभैँसी पालन हुन्छ । यहाँ त्यसअनुसारका पोषिला जातका घाँसहरूको उत्पादन पनि सजिलै गर्न सकिन्छ । सरकारी स्तरबाट कृषिसेवा र पशुसेवा गाउँस्तरमा दिने १ हजारभन्दा बढी सेवा कार्यालयहरू रहेका छन् । त्यही अनुसारका भेटेरिनरी डाक्टर र प्राविधिकहरू छन् । यो क्षेत्रमा प्रतिफल राम्रो छ भनेपछि सबैजसो नेपालीको लगानी यही क्षेत्र बन्न सक्छ ।

चुनौतीहरू ः
नेपालमा श्रमको सम्मान गर्ने परिपाटी नहुनु सबैभन्दा ठूलो चुनौतीको रूपमा रहेको छ । यसो हुनुमा नेपालीको परम्परागत संस्कार र संस्कृतिको वरिपरि घुमिरहनु हो । कर्म गर फलको आश नगरको धारणाबाट मुक्त हुन नसक्नु हो । उच्च र नीच जातको व्यवहार गर्नु हो । ठूलो–सुकिलो काम र सानो–फोहोर काममा विभेद गर्नु हो । अनेकौँ विभेदजन्य कार्यहरूलाई धार्मिक एवं सांस्कृतिक मान्यता दिनुले समाजमा श्रमलाई सम्मानित मान्ने परिपाटीको स्थापना हुन सकिरहेको छैन ।

त्यसमा पनि पढेलेखेकाहरूले भैँसी पाल्ने, गोबरको काम गर्ने हो ? भन्ने गरिन्छ । अर्को कुरा, किसानको स्वामित्वमा पर्याप्त जमिन छैन, स्रोत छैन, पूर्वाधार छैन । उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता पनि छैन । नश्ल सुधारको कुनै गतिलो योजना छैन । यो क्षेत्रमा समाज र सरकारको उदासीनता रहेको छ । नेपालमा विदेशी लगानी भएका क्षेत्रहरूको प्रभावकारिता पनि न्यून रहेको छ ।

यस कारण राष्ट्रिय गौरव अभियानमा आँच आउन नदिन सरकार र निजी क्षेत्रको समन्वयमा योजना कार्यान्वयन हुन सक्नुपर्छ । यो अभियान कार्यान्वयनका लागि दलीय स्वार्थभन्दा माथि उठेर देशको स्वार्थलाई प्राथमिकता दिन सक्नुपर्छ । किनभने यो अभियान हामी सबै नेपालीको साझा हितको अभियानको रूपमा प्रवद्र्धन गर्न सक्नुपर्छ ।

निष्कर्ष ः
नेपालमा राँगाभैँसी पालनलाई ‘राष्ट्रिय गौरव आयोजना’ घोषणा गरेपछि यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन्छ । रोजगारीको वृद्धि हुन्छ । खर्बौंको राष्ट्रिय आवश्यकता पूरा गर्दै निर्यात हुने हुँदा राष्ट्रिय अर्थतन्त्र निर्माणको आधारशिला तयार हुन्छ । विदेशिएको जनशक्ति र पूँजी फर्कने आधार तयार हुन्छ । कृषि पर्यटनको अभिवृद्धि हुन्छ । नेपालीलाई चाहिएको छ– ‘भोको मानिसलाई माछा नदेऊ, बरू माछा मार्न सिकाइदेऊ ।
’ यो सोंच सही छ । नेपालले भीख माग्ने हैन, काम माग्ने हो, सिकाइ सिक्ने हो । जब हामी काम सिक्न थाल्नेछौँ, काम गर्न थाल्नेछौँ, तब हाम्रा तमाम बाधाहरू हटेर जानेछन् ।

(लेखक भट्ट पशु वधशाला व्यवसायी सङ्घ, नेपालका महासचिव तथा ‘बफेलो इनिसिएटिभ नेटवर्क’का संस्थापक हुनुहुन्छ ।)