ज्योति विकास बैंकद्वारा सप्तरीमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा


काठमाडौँ
ज्योति विकास बैंकले तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा सप्तरी जिल्लाका ७० जना स्थानीयलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत उक्त निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा सहयोग गरेको हो ।

रुपनगरस्थित तिलगंगा सर्जिकल आँखा केन्द्रमा आयोजित शिविरमा २ हजार भन्दा बढी व्यक्तिको निःशुल्क आँखा परीक्षण गरिएको थियो भने ४०७ जनाको मोतिबिन्दु शल्यक्रिया सम्पन्न भएकोमा ७० जनाको उपचारमा ज्योति विकास बैंकको प्रत्यक्ष सहयोग रहेको छ । साथै शल्यक्रियापछि आवश्यक चस्मा र औषधि पनि निःशुल्क प्रदान गरिएको छ । यस पहलले दृष्टि गुमाउने जोखिममा रहेका समुदायलाई सहज र गुणस्तरीय उपचार उपलब्ध गराउँदै उनीहरूको जीवनस्तर सुधारमा योगदान पु¥याएको छ ।

बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा यस्तो सेवा प्रदान गर्ने घोषणा गरेको थियो र सोही सम्झौताअनुसार कार्यक्रम कार्यान्वयन गरिएको हो । ज्योति विकास बैंकले आगामी दिनमा पनि यस्ता प्रभावकारी सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। हाल बैंकले देशभर ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।