काठमाडौँ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले अर्ली इलेक्सन सात दिनभित्र गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्रमार्फत् चेतावनी दिएका छन् ।
उक्त पत्रमा आफ्नो सदस्य संघहरुले कुनै पनि तेस्रो पक्षको हस्तक्षेपविना स्वतन्त्र रुपमा आफ्ना गतिविधिहरु सञ्चालन गर्न पाउने कुरालाई उल्लेख गरिएको छ । फिफा र एएफसीले राखेपको निलम्बन र एन्फाको चुनाव स्थगनप्रति गम्भीर आपत्ती जनाएको छ ।
पत्रमा लेखिएको छ–‘राखेपको निर्णयले चुनावी प्रक्रिया एकाएक रोकिएको मात्रै नभई एन्फालाई आफ्नो विधान परिवर्तन गर्न बाध्य बनाएको छ,’ पत्रमा भनिएको छ, ‘यो भनेको तेस्रो पक्षको हस्तक्षप हो । यसलाई समयमै समाधान नगरे गम्भीर परिणाम निम्तिन सक्नेछ ।’
सात दिनको समयसीमामा चुनाव गर्न नसके एन्फाको विषय फिफा काउन्सिलमा पेश गरिने र तत्काल निलम्बनको प्रक्रिया अगाडि बढाइने पत्रमा उल्लेख गरिएको छ ।
निलम्बन भएमा एन्फाले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन नपाउने, फिफा तथा एएफसीबाट प्राप्त हुने विकास कोषको अनुदान गुमाउने तथा अन्य खेलकुद राष्ट्रहरुसँग खेलकुद सम्बन्ध राख्न नपाउने जस्ता प्रतिबन्धहरु लागू हुनेछन् ।











प्रतिक्रिया