धादिङमा शैक्षिक सत्र सुरु हुनासाथै विद्यार्थीको हातमा पाठ्यपुस्तक


धादिङ । 

सामुदायिक विद्यामलयहरुको पाठ्यपुस्तक शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि नआउने पुरानो समस्या चिर्दै धादिङमा यस वर्ष शैक्षिक सत्र सुरुहुनु अगावै पाठ्यपुस्तक आइपुगेको छ । 

पुस्तक तथा स्टेसनरी व्यवसायी संघ धादिङको पहलमा सामुहिक रुपमा पुस्तक जिल्लाभरलाई पुग्नेगरि ल्याइएको संघका संस्थापक अध्यक्ष नारायणकुमार श्रेष्ठले जानकारी दिए ।
 
केही वर्ष पहिलासम्म शैक्षिकसत्र सुरु भएको आधा वर्ष वित्दापनि पुस्तक आउँदैन थियो । पुस्तक तथा स्टेसनरी व्यवसायी संघको पहलमा धादिङमा सामुदायिक विद्यालयको पुस्तक एकद्वार प्रणालीबाट विक्रि गर्नेगरि एकैपटक ल्याउन थालिएपछि यसवर्ष शैक्षिक सत्रको पहिलो दिनमै विद्यार्थीलाई पुस्तक दिन सकिनेगरि व्यवसायीले व्यवस्थापन गरेको पुस्तक व्यवसायी तुलसीप्रसाद अधिकारीले बताए । 

 धादिङमा ४ सय ७६ सामुदायिक विद्यालयलाई सहज रुपमा पुस्तक उपलब्ध गराउन पुस्तक तथा स्टेसनरी व्यवसायी संघ धादिङले विद्यालयले आवस्यकता अनुसारको पुस्तक माग गर्नेछन् । पुस्तक उपलब्ध गराएपछि नगद वा विद्यालयको तर्फबाट चेक उपलब्ध गराइनेगरी समयमै विद्यार्थीको हातहातमा पुस्तक पुग्ने व्यवसायी संघले जनाएको छ । 

धादिङमा धादिङबेसी, धार्के, गजुरी, चरौँदीमा पुस्तक डिपो राखेर वितरणको लागि आइतबारबाट सुरु गरिएको छ । अहिले कक्षा १ देखि १० सम्मका निःशुल्क वितरण गरिने ४१ हजार सेट पुस्तक आइपुगिसकेको छ ।