अर्जुनले पूरा गरे १ हजार रन


काठमाडौं ।

गण्डकी प्रदेशका अर्जुन कुमालले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा १ हजार रन पूरा गरेका छन् ।
ओपनर ब्याटर अर्जुनले वीरगञ्जको टीवी साह क्रिकेट मैदानमा शनिबार कोशी प्रदेशविरुद्ध शतक प्रहार गरेसँगैं १ हजार रन पूरा गरेका हुन् । यस प्रतियोगिताको इतिहासमा १ हजार रनमा पुग्ने अर्जुन दशौं खेलाडी हुन् ।
अर्जुनले २५ खेल खेलेर कम खेलमा सो उपलब्धि हासिल गरेको कीर्तिमान राखे । यसअघि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले ३७ खेलमा सो उपलब्धि हासिल गरेको कीर्तिमान थियो । साथै अर्जुन यो उपलब्धि प्राप्त गर्ने सबैभन्दा युवा खेलाडीसमेत बने । उनी हाल २० वर्षका हुन्

अर्जुनले कोशीविरुद्ध १ सय २ रन बनाउँदा गण्डकीले ७ विकेटको क्षतिमा २ सय २७ रन जोडेको थियो । जवाफमा कोशी १ सय ८८ रनमा समेटिएपछि गण्डकी ३९ रनले विजयी भएको थियो । यो गण्डकीको ५ खेलमा दोस्रो जित थियो ।
जारी प्रतियोगितामा यसअघि अर्जुनले ५ खेलमा एक शतक र दुई अर्धशतकसहित ३ सय ४१ रन बटुलिसकेका छन् । उनले दुई अर्धशतकमा बागमती प्रदेशविरुद्ध ७४ रन र त्रिभुवन आर्मीविरुद्ध ६७ रन बनाए । तर, यी दुबै खेलमा उनको टोली पराजित भउको थियो ।

यस्तै, अर्जुनले सुदूरपश्चिम प्रदेशविरुद्ध ४४ रन बनाएका थिए । यो खेलमा गण्डकी २ विकेटले पराजित भएको थियो । एपीएफमाथि जितेको खेलमा उनले २५ रन मात्रै बनाउन सके । यसैगरी नेपाल पुलिस क्लबविरुद्धको खेलमा अर्जुन ३४ रनमा नटआउट थिए । यो खेल वर्षाको कारण रद्ध भएको थियो ।

पीएम कपमा १ हजार रन पूरा गर्ने १० खेलाडीहरू
–विनोद भण्डारी (आर्मी) (२०१७–हालम्म १५२४ रन)
–आसिफ शेख (एपीएफ) (२०१७–हालम्म १४५२ रन)
–आरिफ शेख (पुलिस) (२०१७–हालम्म १३०७ रन)
–दीपेन्द्रसिंह ऐरी (पुलिस) (२०१७–हालम्म १२९७ रन)
–अनिल साह (मधेश÷पुलिस) (२०१७–हालम्म १२९७ रन)
–इशान पाण्डे (बागमती) (२०१७–हालम्म १२७८ रन)
–रोहित पौडेल (एपीएफ÷आर्मी) (२०१७–हालम्म १२६७ रन)
–कुशल भुर्तेल (पुलिस) (२०१७–हालम्म १११६ रन)
–अर्जुन कुमाल (गण्डकी) (२०२१–हालम्म १०३० रन)
–भीम कार्की (सुदूरपश्चिम÷आर्मी) (२०१७–हालम्म १०२२ रन)