काठमाडौँमा गुण्डागर्दीविरुद्ध अपरेसन: सानुभाइसहित १८ जना पक्राउ


काठमाडौँ ।

काठमाडौँमा गुण्डागर्दी नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष अपरेसनअन्तर्गत सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार गुरुङलाई सामाखुसी क्षेत्रबाट गएराति नियन्त्रणमा लिइएको हो।

प्रहरीले शुक्रबार रातिदेखि अपरेसन सुरु गरेको हो, जस क्रममा थप १७ जनालाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको छ। नुवाकोटको ककनी गाउँपालिका–५ घर भएका ३३ वर्षीय गुरुङ यसअघि पनि विभिन्न घटनामा संलग्न रहेको आरोपमा पटक–पटक पक्राउ परेर छुट्दै आएका थिए।

प्रहरीका अनुसार उनी पूर्व गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी थिए। ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएपछि गुरुङले सुरक्षाका लागि बुलेटप्रुफ ज्याकेट प्रयोग गर्न थालेका थिए। यसअघि पनि उनी हतियारसहित पक्राउ परेका थिए र हातहतियारसम्बन्धी मुद्दामा अनुसन्धान भएको थियो। अहिले उनी आठौँ पटक पक्राउ परेका हुन्।