ट्रान्स–पार्टीमा अवैध सामग्रीसहित बाह्र पक्राउ

1.79k
Shares

पोखरा । कास्की प्रहरीले ट्रान्स–पार्टी गरिरहेको अवस्थामा ३ विदेशीसहित १२ जनालाई पक्राउ गरेको छ । पोखरा–१८, मेथलाङमा घर भाडामा लिएर ट्रान्स–पार्टी गरिरहेको अवस्थामा कास्की प्रहरीले दुई भारतीय, एक ब्राजिलियन र नौजना नेपाली नागरिकसहित १२ जनालाई पक्राउ गरेको हो ।

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार उनीहरुले कृष्ण पराजुलीको घरमा ट्रान्स–पार्टी गरिरहेका थिए । यसको आयोजना भारतीय नागरिक अनुभव शर्मा र नेपाली नागरिक बमेन्द्र पुनले गरेका थिए । उनले उक्त घर भाडामा लिएको खुलेको छ ।

सोही पुरानो घरमा गत मंगलबार बिहान १ः३० बजे प्रहरीले ट्रान्स–पार्टी गरिरहेको र लागूऔषध बिक्री वितरण गरी सेवन गरेको सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएका हो । प्रहरीले उनीहरुको साथबाट लागूऔषधसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक सृष्टि चन्द तथा अनुभव शर्मा, ब्राजिलियन नागरिक चाल्र्स गुवाइवासहित पोखरा–६ का विशाल परियार, ५ का आशिष दर्जी, सोही वडाका बमेन्द्र पुन, दाङका सौरभ महरा, काठमाडौका निकुञ्ज कार्कीसहित सक्षम कोइराला, रोशन अधिकारी, विवेक परियार र सौरभ भन्ने लोकबहादुर घर्ती मगर रहेका छन् । उनीहरुको उमेर २५ देखि ४८ वर्षसम्म रहेको छ ।

कास्की प्रहरीले यसअघि २०७६ सालमा पनि कोरोनाको बेलामा ट्रान्स–पार्टी गरिरहेका विदेशीसहित २५ जनालाई पक्राउ गरेको थियो । अहिले पक्राउ परेकाहरुको साथबाट प्रहरीले ९ प्रकारका लागूऔषधसमेत बरामद गरेको छ । सूचना अधिकारी बस्नेतका अनुसार उनीहरुको साथबाट एमडीएमए, चरेस, कोकिन, खात, आइसीई, पोल्यान्ड, म्याजिक मसरुम, एलएसडी (ठोस र तरल) बरामद गरिएको हो ।

ट्रान्स–पार्टीमा ३८ जना सहभागी भए तापनि प्रहरीले १२ जनालाई मुद्दा दायर गरेको हो । पक्राउ परेकामध्ये ८ जनालाई लागूऔषध तथा ४ जनालाई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरिएको हो । १२ जनाबाहेकका अन्य २६ जनालाई भने छाडिएको प्रहरीले जनाएको छ । सोमबारदेखि शुरु भएको पार्टी कम्तीमा ७२ घण्टासम्म चल्ने थियो ।
के हो त ट्रान्स–पार्टी ?

चर्को संगीतको धुनबीच ‘ड्रग्स, सेक्स र अल्कोहल’ को मज्जा लिँदै लगातार ७२ घण्टासम्म चल्ने डान्स पार्टी नै ट्रान्स–पार्टी हो । ट्रान्स–पार्टी लागूऔषधको सेवनविना सम्भव हुँदैन । लागूऔषधको प्रयोग हुने हुनाले नै यस्तो पार्टीलाई विश्वभर निषेध गरिन्छ । पार्टीमा सहभागीहरू संगीतको तालमा लगातार नाच्छन् । यहाँ कसले के गरिरहेको छ भन्ने मतलब गरिँदैन । सहभागीहरू निर्बाधरूपमा रमाउन पाउँछन् । यसमा पेयपदार्थ र लागूऔषधको प्रयोगसँगै शारीरिक सम्बन्धसमेत सामान्य मानिन्छ ।

यस्ता ट्रान्स–पार्टीमा प्रयोग हुने लागूऔषधलाई पार्टी ड्रग्स भनिन्छ । ट्रान्स–पार्टीमा प्रायः एक्सटेसी लागूपदार्थ प्रयोग गरिन्छ, जुन ट्याबलेटमा उपलब्ध हुन्छ । यसको असर २४ देखि ३२ घण्टासम्म रहन्छ । एलएसडी अर्को पार्टी ड्रग्स हो । यो शरीरमा टाँसिने लागूपदार्थ हो । यसको प्रयोगले मानिसको सोचमा परिवर्तन मात्र नल्याई आनन्दसमेत महसुस गराउँछ । कोकिन पनि ट्रान्स पार्टीमा प्रयोग हुन्छ । कोकिन नाकले सुँघ्ने लागूऔषध हो, जसको प्रयोगले मानिसको मुडमा तत्काल परिवर्तन आउँछ । स्पीड अर्को पार्टी ड्रग्स हो, जसलाई सुँघेर वा इन्जेक्सनद्वारा प्रयोग गरिन्छ । यस्तै गाँजासमेत पार्टी ड्रग्सका रुपमा प्रयोग हुन्छ ।