के–पप समूह बीटीएसले आफ्नो नयाँ पाँचौं पूर्ण एल्बम अरिराङमार्फत विश्व संगीत बजारमा तहल्का मच्चाएको छ। बि हिट म्यु्जिकका अनुसार रिलिज भएको पहिलो दिनमै करिब ३.९८ मिलियन प्रति बिक्री भएको छ।
लेबलका अनुसार यो बिक्रीले समूहकै अघिल्लो पहिलो साताको बिक्री रेकर्डलाई समेत पार गर्दै के–पप क्षेत्रमा नया मानक स्थापित गरेको छ। विश्वभरका प्mयानले एल्बमलाई उत्साहजनक प्रतिक्रिया दिएका छन्, जसका कारण यसले विभिन्न अन्तर्राष्ट्रिय संगीत चार्टमा पनि शीर्ष स्थान हासिल गरेको छ।
४ वर्षपछि पूर्ण सदस्यसहितको पुनरागमन भएकाले एल्बमप्रति दर्शकको चासो अझ बढी देखिएको छ। अरिराङले इटाली, मेक्सिको र स्वीडेनसहित ८८ देशको आईट्युन्स टप एल्बम चार्टमा पहिलो स्थान पाएको छ। एल्बमको मुख्य गीत स्विमले पनि अमेरिका, बेलायत, जापान, जर्मनी र फ्रान्ससहित ९० देशको आइट्युन्स टप गीत चार्टमा शीर्ष स्थान हासिल गरेको छ।
दक्षिण कोरियामा यो गीत सार्वजनिक भएलगत्तै मेलोन र बग्स जस्ता रियल–टाइम चार्टमा नम्बर १ मा पुगेको थियो। एल्बमका सबै गीत मेलोनको टप हन्ड्रेड सूचीभित्र पर्न सफल भएका छन्, जसले यसको तत्काल लोकप्रियता झल्काउँछ।
स्विमको म्युजिक भिडियोले पनि विश्वव्यापी रूपमा ठूलो ध्यान तानेको छ। अमेरिका, बेलायत, मेक्सिको र फ्रान्ससहित ७० देशमा यो ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ।
आकर्षक दृश्य, ऊर्जावान् नृत्य र कथात्मक शैलीले भिडियोले विश्वभरका दर्शकलाई आकर्षित गरेको छ। निर्माता बंग सी हुयुकको निर्देशनमा तयार गरिएको अरिराङले समूहको यात्रा, चुनौती र विकासलाई अभिव्यक्त गरेको छ। स्विम गीतले जीवनका कठिनाइबीच पनि निरन्तर अगाडि बढ्ने सन्देश दिन्छ, जसले श्रोतालाई भावनात्मक रूपमा छोएको छ।











प्रतिक्रिया