अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा बाल लघुशिविर


काठमाडौं ।

राजधानीको बुद्धनगरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा बालबालिकालाई बुद्धका नैतिक, व्यावहारिक र सामाजिक शिक्षा दिन बाल शिविर सुरु भएको छ ।

परीक्षापछिको बिदालाई सदुपयोग गर्न केन्द्रले शनिवारदेखि सो शिविर सञ्चालन गरेको हो । आउने र फर्किने दिन गरी सो शिविर सात दिनसम्म सञ्चालन हुने गर्दछ । यसमा गौतम बुद्धले दिएको ‘मंगल सूत्र’अन्तर्गत ३८ प्रकारका उन्नतिका लागि नैतिक, व्यावहारिक र सामाजिक ज्ञान सिकाइन्छ । साथै, कर्म र त्यसको फल, बालमनोविज्ञान, चित्त एकाग्रता, मनोबल, समस्या समाधानका सीप, सासको ध्यान र मैत्री भावनाको अभ्यास पनि गराइन्छ ।

केन्द्रका अध्यक्ष प्रत्येकरत्न ताम्रकारका अनुसार अहिले धेरै बालबालिका मोबाइलको लतका कारण असामाजिक हुँदै गइरहेको अवस्थामा अभिभावकहरूले आफ्ना सन्तानहरूमा असल संस्कार विकास गर्न र मोबाइलको लतबाट मुक्त गराउन शिविरमा पठाउने गरेका छन् । अहिले ६० जना बालबालिका सहभागी छन् । यीमध्ये कोही अस्थायी भिक्षु भएर, कसैले साधारण रूपमा शिविरमा सहभागी भएका हुन् । बालबालिकाहरू शिविरमै खाने र बस्ने गर्दछन् ।

शान्त र अनुशासित वातावरणमा हुने यो शिविर केन्द्रले साढे तीन दशकदेखि सञ्चालन गर्दै आएको छ । हालसम्म दशौं हजार बालबालिका यसबाट लाभान्वित भइसकेका छन् ।