नेपाली फुटबल अब कतातिर ?

एन्फा र राखेपको लडाइँ

470
Shares

काठमाडौं ।

महिला फुटबल टोलीकी पूर्वकप्तान अञ्जिला सुब्बा तुम्बापोले उहाँकै सामाजिक सञ्जालमा एक पोस्ट गर्नुभयो । जसमा लेखिएको थियो– ‘मैदानमा पसिना बगाउन हामी कहिल्यै पछि हटेनौं । तर, कार्यकक्षको राजनीतिले हाम्रो बाटो छेक्दा मन रुन्छ । खेलकुद निकाय र सरकारलाई प्रश्न छ– के हाम्रो मिहिनेतको कुनै मूल्य छैन ? राजनीतिक विवादले फुटबललाई बन्धक नबनाइयोस् । हामीलाई राजनीति होइन, फुटबल खेल्ने वातावरण चाहियो ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व र अरू सरोकारवालाबीच स्वार्थको लडाइँमा नेपाली फुटबलको अवसान भइरहँदा गोलकिपरसमेत रहेकी अञ्जलीले यस्तो भावनात्मक स्टाटस पोस्ट गर्नुभएको थियो ।

अर्ली इलेक्सन गर्न तम्सिएपछि एन्फालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ३ महिनाका लागि निलम्बन गरेपछि अब, नेपाली फुटबल कतातिर जाने भन्ने प्रश्न तेर्सिएको छ । किनभने यस निलम्बनपछि एन्फाले पहिलोपटक सुरु गरेको महिला ‘ए’ डिभिजन लिग स्थगन भयो । यस्तै, चलिरहेको पुरुष फुटबल राष्ट्रिय लिग पनि स्थगन भयो । यसै गरी, यही अप्रिल तेस्रो साता थाइल्यान्डमा हुने फिफा महिला फुटबल सिरिजबाट नेपालले आफ्नो नाम फिर्ता लिइसकेको अवस्था छ । निलम्बन भइसकेपछि फिफालाई चैत १२ गते एन्फाले नाम फिर्ताका लागि पत्राचार गरेको थियो ।

यसले नेपाली फुटबल अब, अवसानतिर गएको भन्ने भान सबैलाई भइसकेको छ । प्रत्येक दुई–दुई वर्षमा आउने साफ च्याम्पियनसिपमा खेल्ने नखेल्ने समेत ठेगान गर्न सकिरहेको छैन । महिला साफ च्याम्पियनसिपमा अहिलेसम्म नेपाली टोलीले उपाधि जित्न सकेको छैन । उपाधि जित्नैका लागि प्रशिक्षक तथा पूर्व राष्ट्रिय फुटबलर नवीन न्यौपानेले यसपटक बलियो टोली तयार गर्ने तयारीमा हुनुहुन्छ । प्रशिक्षक न्यौपानेले भन्नुभएको छ– ‘मेरो लक्ष्य साफ च्याम्पियनसिप हो । नयाँ खेलाडीलाई प्लेइङ मिनेट्स दिनेछु । मौका पाएको बेला उनीहरूले राम्रो गर्नुपर्छ ।’

तर, उहाँले यसो भनिरहँदा एन्फाबाट कुनै सहयोग भने पाइरहनुभएको छैन । राखेपद्वारा एन्फा निलम्बनपछि एन्फमा नेतृत्वमा रहेका पदाधिकारीहरूले नेपाली फुटबलबारे कुनै ठोस कदम चालेको देखिँदैन । निलम्बन एन्फाका महासचिव किरण राईले त अब जे गर्छ राखेपले नै गर्छ भन्ने प्रतिक्रिया दिनुभएको छ । यसको मतलब अब, नेपाली फुटबल जिरो साइजमा पुगिसकेको स्पष्ट नै छ । राईले भन्नुभयो– ‘महिला टोलीले अब फिफा सिरिजसँगै साफ च्याम्पियनसिप पनि खेल्न पाउने छैन । महिला फुटबलले पछिल्लो समय छलाङ मारेको छ । फिफाले पनि यहीअनुरूप हामीलाई मौका दिएको थियो । अहिले हामी सबैभन्दा अप्रिय र अप्ठ्यारो दिनमा उभिएका छौं ।’

नेपाली फुटबल इतिहासकै सबैभन्दा अन्योलपूर्ण अवस्थामा रहँदा समर्थकले अब आफ्नो टोलीले जितेको हेर्ने, जितमा खुसी मनाउने चाहना कहिलेसम्म कुर्नुपर्ने हो ठेगान छैन । साफ महिला च्याम्पियनसिपसहित आसन्न प्रतियोगिताहरू अन्योलमा छन् । यदि, समयमै समस्याको निकास हुन नसके नेपाली फुटबलको अन्तर्राष्ट्रिय उपस्थिति हुने छैन नै । घरेलु फुटबल पनि पतनको बाटोमा जाने पक्कै छ । यसैले बेलैमा सरोकारवालाहरूले नेपाली फुटबल बचाउन आ–आफ्नो अडान छाडेर मिल्नुपर्ने अहिलेको समयको आवश्कता हो ।