काठमाडौं ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ सुन्दरीजलबाट चोरीको मोटरसाइकलसहित एक युवकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–५ घर भई हाल सुन्दरीजल बस्दै आएका २७ वर्षीय सुजित कुमार सहनी रहेका छन्।
उनी नम्बर प्लेटविहीन अवस्थामा मोटरसाइकल चलाइरहेका बेला सुन्दरीजल सडकखण्डमा फेला परेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२ प २५६७ रहेको छ। सो मोटरसाइकल जोरपाटी क्षेत्रबाट हराएको भन्दै काठमाडौं महानगरपालिका–६ बस्ने राजु लामाले खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
मोटरसाइकलसहित पक्राउ परेका सहनीलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।
यसैबीच, प्रहरीले सवारी साधन चोरी न्यूनीकरणका लागि सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्ने र एकान्त स्थानमा सवारी नराख्न अनुरोध गरिएको छ। सवारी हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको १०० मा तत्काल सम्पर्क गर्न तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन समेत आग्रह गरिएको छ।











प्रतिक्रिया