काठमाडौँ ।
नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा सर्जिकल अंकोलोजिस्ट डा. प्रकाशराज न्यौपानेको ६४ वर्षको उमेरमा निधन भएको छ। पित्त बग्ने नलीमा हुने क्यान्सर (कोलान्जिओ कार्सिनोमा)बाट पीडित रहेका उनको आज बिहान ५:५८ बजे पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ। पछिल्लो एक वर्षदेखि क्यान्सरसँग संघर्षरत रहेका डा. न्यौपाने पछिल्ला एक महिना यता पाटन अस्पतालमै भर्ना भई उपचार गराइरहेका थिए।
उनको उपचारमा मेडिकल अंकोलोजिस्ट डा. अरुण शाही नेतृत्वको टोली संलग्न रहेको थियो। डा. शाहीले डा. न्यौपानेको निधनले नेपालको क्यान्सर उपचार क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्। “उहाँ एक वरिष्ठ र अत्यन्त अनुभवी सर्जिकल अंकोलोजिस्ट हुनुहुन्थ्यो। क्यान्सरको शल्यक्रिया र उपचारमा उहाँको योगदान अतुलनीय छ। उहाँको निधनले हामी सबैलाई स्तब्ध बनाएको छ,” उनले भने। डा. न्यौपाने लामो समयदेखि पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मृगौला तथा छालासम्बन्धी क्यान्सरहरूको शल्यक्रियामा विशेषज्ञका रूपमा परिचित थिए।
उनले नेपालमा सर्जिकल अंकोलोजीको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले आफ्नो व्यावसायिक जीवनको महत्वपूर्ण समय भक्तपुर क्यान्सर अस्पतालमा बिताएका थिए, जहाँ उनले मेडिकल डाइरेक्टरका रूपमा कार्यसम्पादन गरेका थिए। साथै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्व अध्यक्षका रूपमा पनि उनले संस्थागत विकासमा योगदान पुर्याएका थिए।
पछिल्लो समय उनी बीएण्डबी अस्पताल, काठमाडौँ क्यान्सर सेन्टर तथा नेपाल अर्बुद रोग निवारण संस्थासँग आवद्ध रही सक्रिय रूपमा क्यान्सर उपचार र जनचेतना अभिवृद्धिमा संलग्न थिए। डा. न्यौपानेले चिकित्सा क्षेत्रमा तीन दशकभन्दा बढी समय समर्पण गर्दै हजारौँ बिरामीको जीवन बचाउन तथा सुधार गर्न योगदान दिएका थिए। उनको नेतृत्व, अनुभव र समर्पणले नेपालमा क्यान्सर उपचार प्रणालीलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
उनको निधनप्रति स्वास्थ्यकर्मी, चिकित्सक संघ तथा विभिन्न संस्थाहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। सामाजिक सञ्जालमा पनि चिकित्सक तथा सर्वसाधारणले उनको योगदानको प्रशंसा गर्दै शोक व्यक्त गरिरहेका छन्। डा. न्यौपानेको निधनसँगै नेपालको क्यान्सर उपचार क्षेत्रले एक अनुभवी, समर्पित र दूरदर्शी चिकित्सक गुमाएको छ। उनको योगदान सधैं सम्झिरहने विश्वास गरिएको छ।











प्रतिक्रिया