पत्रकारले निगरानीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड


काठमाडौं ।

संस्कृति तथा सम्पदा संरक्षण गर्न पत्रकारहरूले तथ्यमा आधारित रिपोर्टिङ गरी सचेतना फैलाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौं महानगरपालिकासँग सहकार्य गरी हनुमानढोका दरबार क्षेत्रअन्तर्गत बिहीबार राजधानीमा आयोजना गरेको सम्पदा संरक्षणमा पत्रकारिताको भूमिका विषय विचार गोष्ठीका सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । उनीहरूले सम्पदामा भइरहेको अतिक्रमण, ढिलासुस्ती तथा लापरबाही माथि निगरानी राख्दै सम्बन्धित निकायलाई जिम्मेवार बनाउन ‘वाचडग’ भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा पनि बताए ।

सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं १७ का वडा अध्यक्ष नवीन मानन्धरले सम्पदा संरक्षण गर्न स्थानीय तह, सञ्चार माध्यम र समुदायबीच सहकार्य आवश्यकता रहेको बताउनुभयो । काठमाडौं उपत्यकाको मौलिक पहिचान जोगाउन सञ्चार क्षेत्रले अझ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने प्रवक्ता मानन्धरको भनाइ थियो ।

गुठी संस्थानका पूर्वप्रशासक किरण शाक्यले गुठी प्रणाली सम्पदा संरक्षणको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारहरूले यससँग सम्बन्धित विभिन्न विषयमा गहिराईमा पसेर तथ्यमा आधारित सामग्री पस्किनुपर्ने बताउनुभयो ।
संस्कृतिकर्मी जितेन्द्रविलास बज्राचार्यले संस्कृति, सम्पदा जोगाउन मातृभाषामार्फत पत्रकारिता र डिजिटल माध्यमको प्रयोग महत्वपूर्ण रहेको बताउनुभयो । सांस्कृतिक सम्पदाको मौलिकता जोगाउन सञ्चार माध्यमले सही व्याख्या र सन्दर्भसहित सामग्री प्रकाशन गर्नुपर्नेमा उहाँको भनाइ रहेको छ ।

सो कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समिर बलामीले नीतिगत सुधारका लागि बहस सिर्जना गर्ने, विज्ञ तथा सरोकारवालाको आवाज नीति निर्मातासम्म पु¥याउने र लोपोन्मुख संस्कृति जोगाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रस्तुत विचारहरूमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेवाः पत्रकारहरूको भूमिका केवल समाचार सम्प्रेषणमा सीमित नभई स्थानीय पहिचान, भाषा र मौलिक ज्ञानको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो । नेपाल भाषाको लहना साप्ताहिकका प्रकाशकसमेत रहेका अध्यक्ष श्रेष्ठले नेपाल भाषामार्फत लोपोन्मुख परम्परा, कथा, गुठी प्रणाली र संस्कारहरूको दस्तावेजीकरणका लागि मातृभाषाको पत्रकारिताको विशेष योगदान रहेको बताउनुभयो ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका निवर्तमान अध्यक्ष सुरजवीर बज्राचार्यले पत्रकारहरूले सम्पदा, भाषा र संस्कृतिसँग सम्बन्धित मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउँदै आएको चर्चा गर्नुभयो । संस्कृति क्षेत्रमा लामो समयदेखि रिपोर्टिङ गर्दै आएका वरिष्ठ पत्रकार विराजकाजी राजोपाध्यायले संस्कृति सम्पदाका विषयहरू रिपोटिङ गर्न त्यससम्बन्धी अध्ययन, सन्तुलित प्रस्तुतिको विषयमा आफ्नो भनाई केन्द्रित गर्नुभयो ।

त्यसै गरी, दबूका उपाध्यक्ष सुनील महर्जन, महासचिव केके मानन्धर र सचिव राजु नापितले पत्रकारिताको प्रवद्र्धन, नागरिक पत्रकारिता, तालिम, स्रोत साधनको उपलब्धता र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने जोड दिनुभयो ।