नेपाल चिकित्सक संघको निर्वाचन: देशव्यापी प्रचारमा उम्मेदवार टोली सक्रिय

282
Shares

काठमाडौं ।

नयाँ कार्यसमिति चयनका लागि आगामी ४ बैशाखदेखि सुरु हुन लागेको नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार तथा तिनका समूहले देशव्यापी रूपमा चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। विभिन्न प्यानलका उम्मेदवारहरू समूह बनाएर पूर्व र पश्चिमका विभिन्न जिल्लामा पुग्दै चिकित्सकहरूसँग प्रत्यक्ष भेटघाट गरी मत मागिरहेका छन्। अध्यक्ष पदका प्रत्यासी डा. बद्री रिजाल नेतृत्वको ‘टिम बद्री’ यतिबेला पश्चिम नेपाल केन्द्रित प्रचारमा व्यस्त छ। तीन दिनअघि पोखरा आसपासबाट अभियान सुरु गरेको उक्त टोली हाल दाङ पुगेको छ।

टोलीको आगामी कार्यतालिका अनुसार दाङबाट नेपालगञ्ज, सुर्खेत हुँदै धनगढी पुगेर पुनः काठमाडौं फर्किने योजना रहेको छ। यसअघि सो टोलीले तनहुँ, पोखरा, स्याङ्जा, पाल्पा तथा बुटवलका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पुगेर चिकित्सकहरूसँग भेटघाट गरेको थियो। “हामीले पश्चिम क्षेत्रको प्रचार सकेर अब पूर्वतर्फ जाने तयारी गरिरहेका छौँ,” अध्यक्ष पदका प्रत्यासी डा. रिजालले बताए।

उनले देशभरका चिकित्सकसँग प्रत्यक्ष संवादमार्फत आफ्ना एजेन्डा प्रस्तुत गरिरहेको पनि जानकारी दिए। त्यसैगरी, निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको अर्को समूह ‘टिम मंगल’ पनि तराई क्षेत्रमा सक्रिय देखिएको छ। सो टोली बुधबार सिमरा हुँदै वीरगञ्ज पुगेको थियो। टोलीका महासचिव पदका उम्मेदवार डा. कालुसिंह खत्रीका अनुसार उनीहरू आज रौतहट पुगेर काठमाडौं फर्किने र त्यसपछि पश्चिम नेपालतर्फ प्रचार अभियानलाई निरन्तरता दिने तयारीमा छन्। “हामीले छोटो समयमा धेरै स्थान समेट्ने गरी तालिका बनाएका छौँ,” उनले भने।

उता ‘टिम रिफर्म’ नामक अर्को प्यानल पनि पूर्वी नेपालमा केन्द्रित भएर प्रचारमा जुटेको छ। उक्त टोली हाल धरान पुगेको छ र आजै विराटनगर पुग्ने योजना बनाएको छ। टोलीका उपाध्यक्ष पदका उम्मेदवार तथा बागमती प्रदेश संयोजक डा. एकानन्द सिंहले पूर्वी भेगका कार्यक्रम सकेपछि पश्चिमतर्फ लाग्ने जानकारी दिए। “हामीले ११ दिनको विस्तृत प्रचार तालिका तयार गरेर अघि बढेका छौँ,” उनले बताए। यसअघि माघ महिनामा हुने भनिएको एनएमएको निर्वाचन विभिन्न कारणले स्थगित भएको थियो।

यहि १४ चैतमा सम्पन्न सर्वपक्षीय भेलाको सुझावका आधारमा केन्द्रीय निर्वाचन समितिले नयाँ मिति निर्धारण गरेको हो। समितिले उपत्यका बाहिर २०८३ साल ४ र ५ बैशाखमा तथा काठमाडौं उपत्यका भित्र १८ र १९ बैशाखमा मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। यसअघि तय गरिएको कार्यतालिका अनुसार उपत्यका बाहिर २०८२ साल २ र ३ माघमा तथा उपत्यका भित्र १५, १६ र १७ माघमा मतदान हुने भनिएको थियो।

तर, विभिन्न विवाद र तयारी अपुग भएको भन्दै निर्वाचन स्थगित गरिएको थियो। अहिले पुनः तय गरिएको मितिमा निर्वाचन सम्पन्न गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ। आगामी तीन वर्षका लागि संघको नेतृत्व चयन गर्ने यो निर्वाचनलाई चिकित्सक समुदायले निकै महत्वका साथ हेरिरहेका छन्।

विभिन्न प्यानलहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ भने उम्मेदवारहरूले आफ्ना एजेन्डा, सुधारका योजना तथा पेशागत हकहितका मुद्दा उठाउँदै मतदाता चिकित्सकहरूलाई आकर्षित गर्ने प्रयास गरिरहेका छन्। देशभर फैलिएको प्रचार अभियानले चुनावी माहोललाई थप तातो बनाएको छ। चिकित्सकहरूबीचको सहभागिता र सक्रियताले यसपटकको निर्वाचन उत्साहजनक हुने संकेत देखिएको छ।