इरानका ‘नयाँ राष्ट्रपति’ ले युद्धविरामको माग गरेको ट्रम्पको दावी


काठमाडौँ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका “नयाँ राष्ट्रपति” ले अमेरिकासँग युद्धविरामको प्रस्ताव गरेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो उल्लेख गरेका हुन्।

“इरानका नयाँ राष्ट्रपति अघिल्लो राष्ट्रपतिभन्दा कम कट्टरपन्थी र बढी समझदार छन्। उनले भर्खरै अमेरिकालाई युद्ध अन्त्य गर्न आह्वान गरेका छन्,” उनले ट्रुथ सोसियलमा लेखेका छन् । “हामी यसबारे तब मात्र विचार गर्नेछौं जब होर्मुजको जलडमरूम खोलिन्छ, र पूर्ण रूपमा स्वतन्त्र र सुरक्षित हुन्छ। जबसम्म त्यो हुँदैन, हामी इरानलाई पूर्ण रूपमा ध्वस्त पार्नेछौं वा तिनीहरूलाई ‘पाषाण युग’ मा फिर्ता पठाउनेछौं।”

ट्रम्पले कसलाई भने “नयाँ रास्ट्रपति” ?

ट्रम्पले “इरानका नयाँ राष्ट्रपति” ले युद्धविरामको अनुरोध गरेको बताएका छन्। उनले कसलाई संकेत गरिरहेका छन् भन्ने कुरा स्पष्ट छैन।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा हवाई आक्रमण सुरु गरेदेखि, देशका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी सहित धेरै वरिष्ठ इरानी नेताहरू मारिएका छन्।

८ मार्चमा, अली खामेनीका छोरा, मोज्तबा खामेनीले उनको उत्तराधिकारी बनेका छन् ।

इरानले युद्ध अन्त्य गर्न वार्तामा संलग्न रहेको ट्रम्पको दाबीलाई निरन्तर अस्वीकार गर्दै आएको छ। इरानले भनेको छ मध्यस्थकर्ताहरू मार्फत अमेरिकासँग केही सन्देशहरू मात्र आदानप्रदान गरिएको छ।