काठमाडौं ।
केपी शर्मा ओली को स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिएको छ। गत शनिबारदेखि त्रिवि शिक्षण अस्पताल मा भर्ना भएका नेकपा एमालेका अध्यक्ष ओलीको पछिल्लो स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ।
अस्पतालका अनुसार परीक्षणका लागि पठाइएका अधिकांश रिपोर्टहरू सामान्य आउन थालेका छन् भने पिसाबमा देखिएको संक्रमणको विस्तृत जाँचका लागि गरिएको युरिन कल्चर रिपोर्ट आज प्राप्त हुने अपेक्षा गरिएको छ। उक्त रिपोर्टका आधारमा चिकित्सक टोलीले थप उपचार तथा व्यवस्थापन सम्बन्धी निर्णय गर्ने बताइएको छ।
अस्पतालका उप–निर्देशक प्राडा गोपाल सेडाईंले ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको जानकारी दिए। “ल्याउँदाको अवस्थाको तुलनामा अहिले धेरै सुधार भएको छ। यद्यपि युरिन कल्चरको रिपोर्ट आउन बाँकी छ, त्यसपछि थप निर्णय लिइन्छ,” उनले भने।
गत शनिबार बिहान प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिएपछि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो। प्रारम्भिक परीक्षणका क्रममा पिसाबमा संक्रमण, मुटुको चालमा अनियमितता लगायत समस्या देखिएपछि चिकित्सकको सिफारिसमा उनलाई अस्पतालमै भर्ना गरिएको थियो। हाल उनी अस्पतालको एनेक्स–२ अन्तर्गत ५०१ नम्बर क्याबिनमा उपचाररत छन्।
चिकित्सकका अनुसार ओलीको मुटुको चाल अहिले सामान्य अवस्थामा रहेको छ। ४८ घण्टासम्म गरिएको हल्टर मोनिटरिङ परीक्षण मा कुनै गम्भीर समस्या नदेखिएको र हाल उक्त उपकरण हटाइएको अस्पतालले जनाएको छ।
यसबीच, प्रहरी स्रोतका अनुसार ओलीलाई अस्पतालबाट डिस्चार्ज भएपछि महाराजगञ्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखी थप अनुसन्धान अघि बढाइने तयारी गरिएको छ।
गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी घटनामा ओलीलाई जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
अस्पतालले भने उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सकीय निगरानीमा राखिएको र पूर्ण रूपमा स्वास्थ्य स्थिर भएपछि मात्र डिस्चार्ज गरिने जनाएको छ।
हालका लागि ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको भए पनि आज आउने रिपोर्टले आगामी उपचार र व्यवस्थापनको दिशा तय गर्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया