स्वस्ती श्री गुरुकुलद्वारा सरकारी अनुमति नै नलिई बिदेशी पाठ्यक्रम संचालन


काठमाडौं ।

काठमाडौंको स्वयम्भूमा रहेको एउटा नीजि बिद्यालयले सरकारी अनुमति बिनानै बिदेशी पाठ्यक्रम संचालन गराइरहेको खुलेको छ । स्वस्ती श्री गुरुकुल नामको सो बिद्यालयले विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई आईबी डिपी -+2 equivalent) को पाठ्यक्रम संचालन गरिरहेको हो । यो स्विट्जरल्यान्डको इन्टरन्याशनल बाकलोरिएट अर्गनाइजेसनको पाठ्यक्रम हो । जुन तुलनात्मक रुपमा महंगो पाठ्यक्रम मानिन्छ ।

सरकारले सो पाठ्यक्रमका लागि अनुमति बन्द गरेकै झण्डै ३ वर्ष पुगेको छ । अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई मिलेमतोमा सबै अभिभावकलाई ढाँटेर विद्यार्थीको भविष्यसँग खेलवाड गरी अनुमतिबिना नै पढाइरहँदा बिद्यार्थीको भविष्य र लगानी डुब्ने होकि भन्ने चिन्ता कतिपय अभिभावकको रहेको छ । सरकारी अनुमतिबिना पाठ्यक्रम सञ्चालन गर्दा समकक्षता निर्धारण नहुने जोखिम त छँदै छ, बिद्यार्थीले छात्रबृत्तिका लागि स्वदेश तथा बिदेशमा समेत मौका पाउन समस्या हुने देखिएको छ ।

बिद्यार्थीले विदेशमा अध्ययनका लागि जान खोजेमा उनीहरुले सरकारी निकायबाट प्राप्त हुने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) समेत पाउने छैनन् । अनुमति नलिई विदेशी बोर्ड सञ्चालन गरेका विद्यालयबाट प्रमाणपत्र पाएका विद्यार्थीहरूलाई विदेशी प्रमाणपत्रका आधारमा नेपालमा समकक्षता नदिने शिक्षा मन्त्रालयका एक अधिकारीको भनाई छ । त्यस्ता शिक्षण संस्थाहरूलाई कानुन बमोजिम कारबाही गरिने पनि उनको भनाई छ ।

शिक्षा क्षेत्रका जानकारहरुपनि यसरी अनुमति नलिइ बिदेशी पाठ्यक्रम संचालन गरिनु सरासर ठगी भएको बताउँछन् । सो बिद्यालयले आफूहरुले अनुमति लिने काम भइरहेको भन्दै बिद्यार्थी तथा अभिभावकलाई झुक्याएर बिद्यार्थी भर्ना गर्ने गरेको स्रोतको भनाई छ । जसले गर्दा बिद्यार्थीको लगानी र मेहनत डुब्ने होकि भन्ने चिन्ता बढाएको छ ।

उक्त बिद्यालयले पाठ्यक्रम संचालन अनुमतिका लागि सरकारी निकायमा निवेदन दिएकै भरमा अनुमति नै नपाई यसरी महंगो पाठ्यक्रम पहुचका भरमा संचालन गरिरहेको छ । सरकारले नेपालमा केही नीजि क्षेत्रका बिद्यालयलाई मात्रै धेरै अगाडीदेखि यो पाठ्यक्रम संचालनका लागि अनुमति दिएको थियो । तर अहिले भने सरकारले बिदेशी पाठ्यक्रममा रोक लगाएको छ ।