कुनै एक नगरमा भगवान् महादेवको मन्दिर थियो । मन्दिरको परिसरमा मानिसहरुको भीड थियो । मन्दिरमा एउटा थाल झ¥यो र भविष्यवाणी भयो कि जो सच्चा भक्त छ उसैलाई यो थाल मिल्नेछ । एकजना भक्त मन्दिरमा आए, उनी पण्डित थिए, जसै उनले उक्त थाल उठाए, थाल त पित्तलको बन्यो ।
त्यसै नगरका राजा आएर भने– ‘मैले धेरै नै उपहार भेटी चढाएको छु । महादेव ! यो थाल त मैले नै पाउनुपर्छ ।’ जसै राजाले त्यस थाललाई उठाई हेरे तर त्यो थाल त तामाको बन्यो । यत्तिकैमा एकजना किसान त्यहाँ आए । उनले आफ्नो खाना भिखारीलाई दिएर मन्दिरमा आएका थिए । उनी भगवानको दर्शन गरी फर्केर जान लागे । कसैले भन्यो– ‘ए भाइ ! तिमीले पनि थाल उठाऊ, हात लगाई त हेर ।’
त्यहाँ रहेका अन्य मानिसहरुले पनि धेरै आग्रह गरी भनेकाले ती किसानले मन्दिरको त्यो थाल उठाए । तर आश्चर्य भयो, त्यो थाल त सुनमा परिणत भयो । सबैले ती किसानलाई धन्य–धन्य भने । सबैले उनलाई प्रशंसा गरेर सोधे– ‘तिमी सच्चा भक्त कसरी बन्यौ ? बताऊ ।’
ती किसानले भने– ‘म त एक साधारण किसान हुँ, मैले महादेवको पूजापाठ केही गरेको छैन तर मैले जसलाई आवश्यक पर्छ, उसलाई सहयोग गर्दै आइरहेको छु । यसैले मलाई महादेवको कृपा भएको होला ।’ त्यसपछि केही मानिसले फेरि सोधे– ‘तिमीले किन अरुलाई सहयोग गर्छौ ?’
अन्त्यमा किसानले भने– ‘मलाई खुशी लाग्छ, अरुलाई सहयोग गर्न पाउँदा । मैले सहायता गर्दा जो कोही पनि खुशी हुन्छन् । मलाई पनि त्यसैमा खुशी मिल्छ । त्यसैले मैले जो कोहीलाई पनि सक्दो सहयोग गर्ने गर्छु ।’ किसानको कुरा सुनेर सबैले सच्चा भक्तको पहिचान भएको महसुस गरे ।











प्रतिक्रिया