
ज्योतिषशास्त्रका सन्दर्भमा पञ्चाङ्ग भन्नाले तिथि, बार, नक्षत्र, योग र करण गरी पाँचवटा अङ्गको संयुक्त रुप बुझिन्छ । ग्रह–नक्षत्रको गतिअनुसार यी पाँचै अङ्गहरु चलायमान हुन्छन् । कुन दिनको कुन समयमा कुन तिथि, बार, नक्षत्र, योग वा करण पर्छ भन्ने कुरा थाहा पाउन ग्रह–नक्षत्रको गतिका आधारमा कालगणना गरी ज्योतिषीले पुस्तिका तयार गरेका हुन्छन् । त्यसलाई पञ्चाङ्ग अर्थात् बोलीचालीमा पात्रो भनिन्छ ।
तर अहिले यिनै पाँचवटा अङ्गमा मात्र पात्रो सीमित छैन, बर्सेनि प्रकाशित हुने पात्रोमा आवश्यकताअनुसार थप कुराहरु समावेश गरी अझ स्तरीय बनाइँदै लगेको पाइन्छ । यसै क्रममा सनातन वैदिक ज्ञान विज्ञान केन्द्र, काठमाडौंले अनगिन्ती विषय समावेश गरी बृहत् आकारमा ‘आर्यावर्तपञ्चाङ्गम्–२०८३’ नामक पात्रो प्रकाशन गरेको छ ।
यस पात्रोमा दैनिक एवं व्यावहारिक रुपमा आवश्यक पर्ने तिथि, बार, नक्षत्रादि प्रकरणहरु त हुने नै भए । यसका अतिरिक्त ज्योतिष, धर्मशास्त्र, कर्मकाण्डका विविध पक्षहरु पनि यसमा समावेश गरिएको छ । त्यसैले यो पात्रो आकारमा मात्र ठूलो नभएर मोटाइमा पनि ठूलो देखिन्छ । शायद नेपालबाट प्रकाशित पात्रोहरुमध्ये आकारमा यो नै सबैभन्दा ठूलो हुन सक्छ ।
बच्चाको नाम जुराउने तरिका, स्पष्ट ग्रहसाधनसहित चिना बनाउने विधिसमेत यस पात्रोमा दिइएको छ । ज्योतिषीय सूत्रहरु र तिनको प्रयोगलाई उदाहरणसहित उल्लेख गरिनुका साथै फलादेशको केही विधि पनि बताइएकाले ज्योतिषमा रुचि भएकाहरुका लागि यो पात्रो उपयोगी हुने देखिन्छ ।
त्यस्तै वेदवेदाङ्ग परिचय, पञ्चाङ्ग परिचय, ज्योतिष गणित, व्रतपर्व आदि विषयलाई विभिन्न उपशीर्षकहरु दिएर सरल भाषामा बुझाउने कोशिश गरिएको छ । हरेक महिनामा पर्ने पर्वहरु र तिनमा गरिने व्रतादि कार्यहरुको विधि–विधानसमेत यसमा समेटिएको छ । त्यसैले गणित एवं फलित ज्योतिष सिक्न चाहनेदेखि कर्मकाण्ड गराउने पुरोहितहरुका लागि यो पात्रो धेरै उपयोगी हुने देखिन्छ ।
यसै गरी दशदान, अष्टमहादान, पञ्चधेनुदान आदि दानअन्तर्गत पर्ने विभिन्न वस्तुका दानहरुको छुट्टाछुट्टै सङ्कल्प र विधिहरु यस पात्रोमा उल्लेख गरिएको छ । साथै गर्भाधान, सिमन्तोनयन, नामकरण, अन्नप्राशन आदि विभिन्न संस्कारका विधिहरु पनि यसमा दिइएको छ । यस्ता यावत् विधिहरु सनातन वैदिक मन्त्र एवं संस्कृत श्लोकहरुसहित वैदिक परम्पराअनुसार नै यहाँ उद्धृत गरिएको देखिन्छ ।
देवकर्म मात्र नभएर अन्त्यकर्मका केही विधि अनि तर्पण, एकोद्दिष्ट श्राद्धविधि पनि यसमा उल्लेख छ । विभिन्न प्रकारका श्राद्धसम्बन्धी निर्णय र व्यावहारिक रुपमा काम लाग्ने पौराणिक विषयलाई बढी नै स्थान दिइएको छ । शायद यी विषयका कुनै पनि प्रश्नको उत्तर खोज्न÷सोध्न अन्यत्र जानु नपरोस् भन्ने पञ्चाङ्गकारको मनसाय हुन सक्छ ।
पञ्चगव्य निर्माण विधिदेखि दीप–कलश–गणेशपूजा, वरण, पुण्याहवाचन, स्वस्तिवाचन, विभिन्न स्तोत्र÷सूक्तहरु र अनेक कर्मकाण्ड विधिहरुसमेत यस पात्रोमा दिइएकाले कर्मकाण्डी ब्राह्मण र सामान्य ज्ञान भएका यजमानका लागि पनि यो आर्यावर्तपञ्चाङ्ग रोजाइमा पर्ने अनुमान गर्न सकिन्छ ।
जन्मोत्सव पूजाविधि, सत्यनारायण पूजाविधि, यमद्वितीया भ्रातृ पूजाविधि, लक्ष्मीपूजाविधि, पूर्णिमा व्रतपूजाविधि, नागपूजाविधि, लक्षवर्तिका पूजाविधि आदि धेरै पूजाविधि यस पात्रोमा दिइएकाले हरेक कर्मकाण्डका लागि अलग–अलग पुस्तक साथमा हुनुपर्ने समस्या यस पात्रोले समाधान गर्ने देखिन्छ ।
यस आयार्वपञ्चाङ्गमा यस्ता अनगिन्ती विषयहरू समेटिएका छन् । यहाँ उल्लेख गरेर साध्य नै छैन, जुन कुरा पात्रो हेरेपछि मात्र ज्ञात हुन्छ । मुख्य कुरा, यहाँ उल्लेख गरिएका प्रायः सबै विषय सम्बन्धित विज्ञहरुद्वारा तयार गरिएकाले सैद्धान्तिक एवं व्याकरणीय हिसाबमा खण्डन गर्न सक्ने देखिँदैन । फेरि संस्कृतका श्लोकसहित सप्रमाण प्रस्तुत गरी कहाँबाट उद्धृत गरिएको भन्ने स्रोतसमेत खुलाइएकोले आधिकारिक मान्न सकिन्छ ।
सिद्धान्त ज्योतिषाचार्य, कलाचार्य एवं शिक्षाशास्त्री डा. नारायणप्रसाद निरौला यस पात्रोका पञ्चाङ्गकार अर्थात् गणक हुनुहुन्छ । सिद्धान्त ज्योतिषाचार्य डा. वासुदेवकृष्ण शास्त्री निर्देशक रहनुभएको यस पात्रोको मूल्य रु. २००।– मात्र राखिएको छ । यसको आकार, पृष्ठसङ्ख्या र यसमा निहित विविध विषयवस्तुलाई मध्यनजर गर्दा यो मूल्य सस्तो मान्नुपर्छ ।
वैदिक ज्ञान विज्ञान केन्द्रले बृहत् किसिमको पात्रो मात्र नभएर गोजी पात्रो र क्यालेन्डर पनि प्रकाशन गरेको छ । यहाँबाट प्रकाशित क्यालेन्डरमा हरेक दिनको तिथिको समयसमेत उल्लेख गरिएकोले अन्य क्यालेन्डरको तुलनामा बढी नै उपयोगी हुने देखिन्छ ।[email protected]











प्रतिक्रिया