राजनीति समाज सञ्चालनको मूल आधार हो, जसले राज्यका नीति, दिशा र मूल्य प्रणाली निर्धारण गर्छ । तर जब राजनीतिमा अराजनीतिक प्रवृत्तिहरू प्रवेश गर्छन्, त्यसले समाजलाई गम्भीर असर पार्न थाल्छ । अहिले नेपाली समाज यस्तै संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको देखिन्छ, जहाँ विचार, संवाद र सहिष्णुताभन्दा पनि आक्रोश, पूर्वाग्रह र असहिष्णुता हाबी बन्दै गएको छ ।
समाज यस्तो मोडमा पुगेको छ, जहाँ मानिसहरू एक–अर्काको कुरा सुन्ने धैर्यता गुमाउँदै गएका छन् । आफ्ना विचारलाई मात्र सत्य मान्ने र अरूका विचारलाई अस्वीकार गर्ने प्रवृत्ति दिन–प्रतिदिन बलियो बन्दै गएको छ । यस्तो सोचले स्वस्थ बहस र संवादको संस्कृति कमजोर बनाउँदै लगेको छ । परिणामतः समाजमा विभाजन, द्वन्द्व र अविश्वास बढ्दै गएको छ ।
पहिले नेपाली समाजमा देखिने सद्भाव, आपसी सम्मान र सहअस्तित्वको भावना अहिले बिस्तारै हराउँदै गएको महसुस हुन्छ । अहिले एकले अर्कालाई सम्मान गर्नेभन्दा पनि असमान व्यवहार गरेर आफ्नो अस्तित्व जोगाउने प्रवृत्ति तीव्र बन्दै गएको छ । यो प्रवृत्तिले सामाजिक एकता कमजोर पार्दै समाजलाई विखण्डनतर्फ धकेलिरहेको छ । यस अवस्थालाई थप जटिल बनाएको छ, सामाजिक सञ्जालले ।
सामाजिक सञ्जालले सूचना आदानप्रदानलाई सहज बनाएको भए पनि यसको दुरुपयोग बढ्दो छ । विशेष गरी एल्गोरिदमले मानिसलाई आफ्नै विचारसँग मिल्ने सामग्री मात्र देखाउने हुँदा फरक दृष्टिकोणप्रति सहिष्णुता घट्दै गएको छ । यसले ‘इको चेम्बर’को अवस्था सिर्जना गरेको छ, जहाँ मानिसहरू आफ्नै सोचलाई पुष्टि गर्ने सामग्री मात्र देखेर अरू सबैलाई गलत ठान्न थाल्छन् । यति मात्र होइन, सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गर्ने, अपमानजनक टिप्पणी गर्ने र सार्वजनिक रूपमा पचाउन नसकिने शब्दहरू प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ । आफ्ना विचारअनुसार सामग्री नआए त्यसको विरोध गर्ने मात्र होइन, व्यक्तिमाथि नै आक्रमण गर्ने प्रवृत्ति पनि देखिन थालेको छ । यसले समाजमा अराजकता बढाउँदै लगेको छ ।
झनै चिन्ताजनक कुरा त के छ भने, महिलामाथि लक्षित अपमान, धम्की र यहाँसम्म कि सामूहिक बलात्कारको धम्कीसमेत खुलेआम सामाजिक सञ्जालमा दिइने अवस्था सिर्जना भएको छ । यस्तो व्यवहारले पीडितलाई मानसिक रूपमा त्रसित बनाउने मात्र होइन, उनीहरूको सामाजिक जीवनसमेत प्रभावित बनाइरहेको छ । यस्तो अवस्थामा पनि नियामक निकायहरूको भूमिका प्रभावकारी देखिएको छैन ।
कानुनी कारबाही कमजोर हुँदा यस्ता प्रवृत्तिहरू झन् मौलाउँदै गएका छन् । राज्यका सम्बन्धित निकायहरू यस विषयमा सक्रिय र संवेदनशील हुनुपर्ने आवश्यकता छ । अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलिन दिनुहुँदैन । कानुनको प्रभावकारी कार्यान्वयन र दण्डहीनताको अन्त्य अत्यावश्यक छ । साथै, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि आफ्ना जिम्मेवारी बुझ्न आवश्यक छ ।
अहिलेको अवस्थामा समाजका विभिन्न क्षेत्र– बौद्धिक वर्ग, सञ्चारमाध्यम, नागरिक समाज, शैक्षिक संस्था सबै रमिते बनेर बसिरहेको जस्तो देखिन्छ । यसरी समाज विघटनतर्फ उन्मुख भइरहँदा मौन बस्नु समाधान होइन । यस विषयमा गम्भीर बहस, सचेतना र हस्तक्षप आवश्यक छ । अन्ततः प्रश्न उठ्छ, यस अवस्थाको दोषी को ? समाज आफैँ कि सामाजिक सञ्जालको एल्गोरिदम ? यथार्थमा यी दुवै कारक एक–अर्कासँग अन्तर सम्बन्धित छन् । प्रविधि आफैँ दोषी होइन, यसको प्रयोग गर्ने हाम्रो सोच र व्यवहार मुख्य कुरा हो ।
त्यसैले समाधान पनि हाम्रो सामूहिक चेतना, जिम्मेवारी र सक्रियतामा निर्भर छ । यदि समयमै यसतर्फ ध्यान दिइएन भने अराजनीतिक प्रवृत्तिले समाजलाई अझ गहिरो संकटतर्फ धकेल्न सक्छ । त्यसैले अहिले नै सचेत भएर संवाद, सहिष्णुता र जिम्मेवारीको संस्कृति पुनस्र्थापित गर्नु अपरिहार्य भइसकेको छ ।











प्रतिक्रिया