गेटा विश्वविद्यालयलाई रणनीतिक योजनामा राख्न सरकार सकारात्मक


काठमाडौं ।

कैलाली क्षेत्र नम्बर ५ का सांसद डा. आनन्दबहादुर चन्दले कैलालीको गेटामा स्थापना हुन लागेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई राष्ट्रिय रणनीतिक योजनामा समेट्दै पर्याप्त बजेट विनियोजन गर्न सरकारसमक्ष औपचारिक प्रस्ताव पेस गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भएको छलफलका क्रममा उहाँले ‘नीति प्रस्ताव’ प्रस्तुत गर्दै उक्त विश्वविद्यालयको दीर्घकालीन महत्वबारे प्रकाश पार्नुभएको हो । गेटा मेडिकल कलेजको प्रस्ताव स्वीकृतिका लागि प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपतिलाई बोलाएर छलफल गर्नुभएको छ । उक्त छलफलमा प्रस्तावनाअनुसार काम अगाडि बढाउन प्रम शाहले निर्देशन दिनुभएको छ ।

सांसद चन्दका अनुसार गेटामा निर्माणाधीन उक्त विश्वविद्यालयले सुदूरपश्चिम मात्र नभई समग्र देशकै स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ । उहाँले विशेष गरी सुदूरपश्चिममा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावलाई समाधान गर्न यो परियोजना अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेश विगतदेखि विकासका हिसाबले पछि परेको र हालसम्म चिकित्सा शिक्षा अध्ययन÷अध्यापन नहुने एकमात्र प्रदेश रहेको उल्लेख गर्नुभयो । त्यसैले गेटामा विश्वविद्यालय स्थापना हुनु केवल शैक्षिक परियोजना नभई क्षेत्रीय समानता कायम गर्ने महत्वपूर्ण कदम हुने उहाँको भनाइ छ ।