शैक्षिक सत्रअगावै विद्यार्थी भर्ना नगर्न निर्देशन

1.69k
Shares

भक्तपुर ।

वार्षिक परीक्षा नसकिँदै केही निजी विद्यालयले भर्ना सुरु गरेपछि भक्तपुर नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थी भर्ना नगर्न नगरभित्रका विद्यालयहरूलाई निर्देशन दिएको छ ।

नगरपालिकाको शिक्षा शाखाद्वारा जारी सूचनामा शिक्षा नियमावली २०७९ (संशोधनसहित) अनुसार शैक्षिक सत्र औपचारिक रूपमा सुरु नभएसम्म विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था रहेको उल्लेख गरिएको छ । सूचनामा नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूले उक्त प्रावधानको पालना गर्नुपर्ने शिक्षा शाखाका आठौं तहका अधिकृत साधुराम फुयाँलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नियमविपरीत भर्ना प्रक्रिया अगाडि बढाएमा कारबाही हुनसक्ने संकेत गर्दै उक्त सूचनामा नियमअनुसार मात्र भर्ना प्रक्रिया सञ्चालन गर्न आग्रह गरिएको छ । नगरपालिकाले यस कदमले शैक्षिक प्रणालीलाई व्यवस्थित, पारदर्शी र समान अवसरमा आधारित बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताइएको छ ।

जिल्लाका केही निजी विद्यालयहरूले शिक्षा नियमावलीविपरीत नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु गरेका छन् । शिक्षा नियमावलीअनुसार वार्षिक परीक्षाको नतिजा प्रकाशित भएपछि मात्र भर्ना प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था छ । कतिपय निजी विद्यालयहरूले भने चैत महिनाभित्रै भर्ना प्रक्रिया सक्ने गरी आन्तरिक कार्यतालिका बनाएका छन् ।

नियमविपरीत भर्ना सुरु गर्ने क्रम यसअघिका वर्षमा पनि हुँदै आएका थिए । संघीय र स्थानीय सरकारले नियमावलीलाई पालना गरेर हरेक वैशाखमा मात्रै भर्ना खोल्न आग्रह गर्दै आए पनि निजी (संस्थागत) विद्यालयले यसको निरन्तर उल्लंघन गर्दै आएका छन् ।