काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक दिनेश राउतलाई घुस रकमसहित पक्राउ गरेको छ ।
प्रहरी वृत्त मालीगाउँ, काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउतलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता गराइदिन सहयोगको नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको कार्यालय टंगाल, काठमाडौंबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
प्राप्त उजुरी र सूचनाका आधारमा मंगलवार काठमाडौं महानगरपालिका–५, गहनापोखरीबाट राउतलाई २० हजार नगद र मोबाइल फोनसहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपाने बताउनुभयो । यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यसै गरी आयोगले रौतहट जिल्ला अदालतमा कार्यरत कर्मचारी डिट्ठा लवकुमार सिंहलाई सेवाग्राहीसँग घुस–रिसवत लिएको आरोपमा नियन्त्रणमा लिएको छ । अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले प्राप्त उजुरी र सूचनाका आधारमा मंगलवार ५० हजार घुस रकमसहित सिंहलाई पक्राउ गरेको हो ।
गौर नगरपालिका–१ स्थित जिल्ला अदालतको परिसरबाट सिंहलाई ५० हजार नगद र एक थान मोबाइल फोनसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।











प्रतिक्रिया