काठमाडौं ।
नेपाली कांग्रेस औपचारिक रूपमा एउटै पार्टीभित्र रहे पनि व्यवहारतः अब दुई समानान्तर धारमा विभाजित भएको छ । सभापति गगन थापा नेतृत्वको संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको इतर पक्षले पछिल्ला केही दिनयता छुट्टाछुट्टै गतिविधि तीव्र बनाएका छन् । दुवै पक्षले आफ्नो शक्ति, संगठन र प्रभाव देखाउने अभियान थालेपछि कांग्रेसभित्रको द्वन्द्व अब मिल्नेभन्दा झन् गहिरिँदै गएको नेताहरू बताउँछन् ।
पार्टीभित्रको अवस्था यस्तो बन्दै गएको छ कि अब एक पक्षले अर्को पक्षको अस्तित्व नै स्वीकार्न नसक्ने तहमा पुगेको छ । गगन थापाले विशेष महाधिवेशनपछि पार्टीको नेतृत्व, संरचना र भावी रणनीति आफ्नो नियन्त्रणमा लिन खोजिरहेको आरोप इतर पक्षको छ । उता, थापा पक्षले भने पार्टीलाई अस्थिर बनाउन खोजेको दाबी गर्दै आएको छ ।
सातै प्रदेशमा गगन पक्षको अभियान
सभापति गगन थापा पक्षले सातै प्रदेशमा चुनावी समीक्षा र संगठन पुनःसंरचनाको अभियान सुरु गरेको छ । थापा निकट नेताहरूलाई प्रदेश–प्रदेशमा पठाएर कार्यकर्ता, जिल्ला सभापति र प्रदेश नेतृत्वसँग छलफल गर्ने जिम्मेवारी दिइएको छ ।
थापा पक्षको निष्कर्ष छ– पार्टीलाई नयाँ ढंगले अघि बढाउन नसके कांग्रेसको भविष्य संकटमा पर्नेछ । त्यसैले विशेष महाधिवेशनपछि पार्टीभित्र पुरानो संरचना र पुराना शक्ति केन्द्रलाई कमजोर बनाउँदै नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने रणनीतिमा थापा पक्ष लागेको स्रोतको दाबी छ ।
यसै उद्देश्यले थापा निकट नेताहरूले प्रदेशस्तरमा भेला, समीक्षा र परामर्शलाई तीव्र बनाएका छन् । केही नेताहरूले जिल्ला सभापतिहरूलाई सम्पर्क गर्दै ‘अब पार्टीमा नयाँ लाइन’ अनुसार चल्नुपर्ने सन्देश समेत दिन थालेका छन् ।
खड्काको लगातार बैठक, खड्का पक्षमा खुल्दै अधिकांश वरिष्ठ नेताहरू
उता कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि केही दिनदेखि निरन्तर बैठक र परामर्शलाई तीव्र बनाउँदै आइरहनुभएको छ । मंगलवार खड्काले बोलाएको महत्वपूर्ण बैठकमा कांग्रेसका अधिकांश शीर्ष तथा वरिष्ठ नेताहरू सहभागी भए ।
बैठकमा, वरिष्ठ नेता शेखर कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला, बद्री पाण्डे, जीवन परियार, रामहरि खतिवडा, मीन विश्वकर्मा, मोहन बस्नेत, जीवनबहादुर शाही, बलबहादुर केसी, मीनेन्द्र रिजाल, एनपी साउत, जितजंग बस्नेत, महालक्ष्मी उपाध्याय डिना, शिव हुमागार्इं, गुरु बराल, श्याम घिमिरे, गोविन्द भट्टराईलगायतका नेताहरू एउटै लाइनमा देखिए । बैठकको निष्कर्ष स्पष्ट थियो– गगन थापाले विशेष महाधिवेशनमार्फत पार्टीलाई कब्जा गर्न खोजेका छन् र त्यसको प्रतिरोध गर्नुपर्छ ।
गगन नेतृत्वमा चुनावमा गएको कांग्रेसले सर्मनाक हार व्यहोरेकाले उहाँ पूर्ण रूपमा असफल हुनुभएको निष्कर्ष अधिकांश कांग्रेस नेताहरूले निकालेका थिए ।
बैठकमा खड्काले विशेष महाधिवेशनपछि समानुपातिकतर्फ व्यक्ति छनोट गर्दा कानुन र पार्टीको विधानविपरीत निर्णय गरिएको भन्दै त्यसविरुद्ध पीडित नेताहरू सर्वोच्च अदालत पुगेको जानकारी गराउनुभएको थियो । खड्काको भनाइ थियो, ‘हामीलाई योजनाबद्ध रूपमा पाखा लगाउने काम भएको छ । बैठकमा सहभागी अधिकांश नेताहरूले पनि गगन पक्षले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै असन्तुष्टि पोखेका थिए ।
गगनको महाधिवेशनलाई अपनत्व दिने वरिष्ठ नेता न्यून
विशेष महाधिवेशनपछि गगन थापा पक्षले पार्टीको औपचारिक नेतृत्व सम्हाले पनि त्यसलाई खुलेर अपनत्व दिने वरिष्ठ नेताहरू अत्यन्तै कम देखिएका छन् । पार्टीका प्रभावशाली र पुराना नेताहरूको ठूलो हिस्सा देउवा–खड्का समूहसँग उभिएको छ ।
कांग्रेसभित्र अहिलेको शक्ति सन्तुलन हेर्दा गगन पक्षसँग युवा नेता, केही जिल्ला सभापति र नयाँ पुस्ताको साथ छ भने देउवा–खड्का पक्षसँग पार्टीका पुराना संरचना, अधिकांश वरिष्ठ नेता र परम्परागत संगठनात्मक सञ्जाल रहेको देखिन्छ ।
यही कारण दुवै पक्षले आफू नै ‘साँचो कांग्रेस’ भएको दाबी गरिरहेका छन् । थापा पक्षले पुरानो पुस्ताले परिवर्तन रोक्न खोजेको आरोप लगाइरहेको छ भने देउवा–खड्का पक्षले गगन समूहलाई ‘अहंकारी’ र ‘एकलौटी’ भन्दै आएको छ ।
सर्वोच्चको फैसला आए पनि पार्टी नजोडिने संकेत
कांग्रेसको आधिकारिकता, विशेष महाधिवेशन र समानुपातिक छनोट विवादबारे सर्वोच्च अदालतमा रिट परिसकेको छ । तर, कांग्रेसभित्रका नेताहरूका अनुसार अदालतको फैसला आए पनि पार्टीभित्रको विभाजन सहजै मेटिने अवस्था छैन ।
एक नेताले भने– ‘अब यो केवल पद वा निर्णयको विवाद होइन । यो नेतृत्व, अस्तित्व र भविष्यको लडाइँमा बदलिएको छ । सर्वोच्चले जसको पक्षमा फैसला गरे पनि अर्को पक्ष सहजै मान्ने अवस्थामा छैन ।’
राजनीतिक वृत्तमा अब प्रश्न उठ्न थालेको छ– कांग्रेस अन्ततः एउटै रहनेछ कि औपचारिक रूपमा नै दुई चिरामा विभाजित हुनेछ ? अहिलेको अवस्था हेर्दा दुवै पक्षबीचको दूरी यति बढिसकेको छ कि पुनर्मिलनभन्दा टकराबको सम्भावना बढी देखिन थालेको छ ।











प्रतिक्रिया