उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ९ रातमाटेस्थित विदुर भुजेलले बजारबाट किनेर ल्याएको चामल प्लास्टिकको भएको र भात पकाउँदा भकुण्डो जस्तो डल्लो हुने गरेको भन्ने हल्ला निराधार रहेको फेला परेको छ ।
उक्त हल्ला सुनेपछि त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राईको नेतृत्वमा नगरपालिकाका केसी शाखा प्रमुख माधव राउत, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष इश्वर तामाङ पत्रकार माधव पोखरेल, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष नवीन बस्नेत लगायतको टोली विदुर भुजेलको घर पुगेको थियो ।
भुजेलले किनेर ल्याएको बुद्ध भोग नामक चामलको बोराको चामल हेर्दा शुद्ध चामल नै रहेको, पानीमा भिजाउँदा पधेलो भै चौलानी निस्किएको र चपाएर जाँच्दा पनि अर्ग्यानिक चामल नै रहेको फेला परेको छ । सो चामलको भात पकाएको प्लास्टिकमा राखेको अवस्थामा हेर्दा जाँड बनाउदा जसरी कुहिन्छ ठिक त्यसरी नै कुहिएको अवस्थामा देखिएको छ ।
प्लास्टिकको चामल भिजाउँदा चौलानी नआउने, चपाउँदा चाम्रो हुने, चपाउन नसकिने, पानीमा नभिज्ने तैरिने हुन्छ भने हेर्दा सफा चम्किलो लाम्चो सुकिलो हुन्छ । अर्ग्यानिक चामल चपाउँदा मजाले चपिने, पिठो हुने, भिजाउँदा पधेलो चौलानी आउने, मैलो देखिन्छ भने हातमा राखेर माडदा टुक्रिएर कनिका बन्ने त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष नवीन बस्नेतले बताए ।
उनले सामाजिक सञ्जालमा दिएको निराधार र अनावश्यक सूचनाले व्यवसायीहरुमा त्रास उत्पन्न हुने र उपभोक्ताहरुमा पनि नकारातमक असर पुग्ने बताए ।
यस विषयमा उदयपुरका सहायक प्रजिअ बिक्रम प्रसाद पाण्डेले प्लास्टिकको चामल भनिएको तर पकाउँदा अर्ग्यानिक भात भएकोले प्प्लाष्टिकको चामल भन्न नसकिने र उक्त चामल जाँचकालागि खाद्यप्रविधि प्रयोगशालामा पठाइएकोले जाँचको प्रतिवेदन आएपछि मात्र स्पष्ट हुने बताए ।
त्रियुगा नगरपालिकाका कृषि शाखाका प्रमुख कृषि अधिकृत माधव राउतले हामीले फिल्डमा गएर स्थलगत रुपमा गएर हेरेको र पलिष्टकको चामल भन्ने कुरा होइन भन्ने बुझाई भएको बताए । उनले गलत तरिकाले समाजलाई भ्रममा पार्ने गरी गलत तरिकाले सामाजिक सञ्जालमा भ्रामक सुचना दिएको बताए ।
यस विषयमा त्रियुगा नगरपालिकाकी उप प्रमुख महेश्वरी राईले संयुक्त रुपमा अनुगमन गरिएको जानकारी दिंदै अनुगमनमा पत्रकार, त्रियुगा नगरपालिकाका कृषि शाखा प्रमुख, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष, जिल्ला एदोग वाणिज्य संघका प्रतिनिधि सहित सम्बन्धित घरमै गएको र चामल चपाउँदा चपिएको, खाना बनाएको प्लास्टिकमा राखिएको पनि हेरेको तर चपाउँदा अर्ग्यानिक चामल नै भएको थाहा पाइएको हुँदा चामल भिजाउँदा चौलानी समेत देखिएकोले प्लास्टिकको चामल होइन भन्ने कुरा स्पष्ट बुझिएको बताइन । उनले हिजो डल्लो बनाएको चामल गलेर फ्यात्त भएको सोझो आँखाले हेर्दा पुरानो चामल रहेको हाम्रो बुझाई रहेको बताइन ।











प्रतिक्रिया