महिला उद्यम प्रवद्र्धनमा मिडियाको भूमिकामाथि छलफल


काठमाडौँ
महिला उद्यमशीलता प्रवद्र्धनमा मिडियाको भूमिकाबारे सञ्चारिका समूह नेपालले काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मूलधारका सञ्चारमाध्यमले महिला उद्यमीका विषयलाई कति प्राथमिकता दिएका छन् भन्नेबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागी सम्पादक, पत्रकार, नागरिक समाजका प्रतिनिधि तथा मानवअधिकारकर्मीले साना–साना उद्यम सञ्चालन गरिरहेका महिलाका प्रेरणादायी कथालाई सकारात्मक रूपमा मिडियामा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए । सञ्चारिका समूहले जिआईजेड नेपालको सहयोगमा देशभरका महिला उद्यमीहरूको संघर्ष र सफलताका कथामा आधारित ‘उद्यमी महिला’ शीर्षकका २१ वटा फेलोसिप स्टोरी प्रकाशन गरेको जानकारी पनि दिइयो ।

सञ्चारिका समूहकी सल्लाहकार बबिता बस्नेतले डिजिटल माध्यममार्फत महिला उद्यमको प्रचार–प्रसारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् भने अधिवक्ता पुनदेवी महर्जनले कानुनी पक्ष सुदृढ बनाउन पनि मिडियाले ध्यान दिनुपर्ने बताउभुनभयो ।

कार्यक्रममा प्रस्तुत अध्ययन प्रतिवेदनअनुसार प्रदेशअनुसार महिला सम्बन्धी समाचारका विषय फरक–फरक देखिएका छन् । सुदूरपश्चिम र कर्णालीमा छाउपडी तथा स्वास्थ्यका विषय बढी उठाइएका छन् भने अन्य प्रदेशमा उद्यमशीलता, डिजिटल व्यवसाय र राजनीतिक सहभागिता सम्बन्धी समाचारलाई प्राथमिकता दिइएको पाइएको छ ।

सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले सञ्चारमाध्यममा महिलाका सफलताभन्दा हिंसा र नकारात्मक घटनालाई बढी प्राथमिकता दिइएको भन्दै सुधारको आवश्यकता औँलयाउनुभयो । कार्यक्रममा २१ जना फेलो, सम्पादक, मेन्टर तथा महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।