नेपाली कांग्रेसकी एक मात्र विजयी महिला वासना

अभिनेत्री विपना थापाकी बहिनी


नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ चुनाव जितेकी एक मात्र सांसद हुन वासना थापा। धेरैलाई थाहा नहुन सक्छ उनी लोकप्रिय अभिनेत्री विपना थापाकी बहिनी हुन्।
दैलेख क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार रवीन्द्रराज शर्मालाई हराउँदै प्रतिनिधिसभा सदस्य निर्वाचित वासना १२ हजार ३ सय ७२ मत ल्याएर विजयी हुँदा एमालेका शर्मा ११ हजार ७ सय ९६ मत ल्याएका थिए। १२ औं महाधिवेशनदेखि लगातार कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी वासनाले आफूसंग प्रतिस्पर्धामा रहेका अनुभवी नेताहरूलाई नै हराइदिइन्।

दैलेख १ मा कांग्रेसले १२ वर्षपछि आफ्नै उम्मेदवार खडा गरेर जितेको हो भने वासनाले पहिलोपटकको प्रयासमा नै संसदीयय चुनाव जितेकी हुन्। उनले १२ वर्षपछि खोलो फर्किन्छ भन्ने नेपाली उखान दैलेखबाट चुनाव जितेर प्रमाणित गरेकी हुन्। वासना निर्वाचित भएसंगै कर्णालीको संसदीय राजनीतिमा पहिलो रेकर्ड कायम भएको छ। यसअघिका संसदीय चुनावमा महिला उम्मेदवार नै नहुने र भए पनि चुनावै नजितेको इतिहास तोड्दै कर्णालीबाट प्रत्यक्षतर्फको निर्वाचनमा पहिलोपटक चुनाव जित्ने रेकर्ड बनाउन वासना सफल भएकी हुन्।

कर्णालीमा महिलाहरूको राजनीतिक सहभागिता समानुपातिक प्रणालीबाट हुँदै आए पनि प्रत्यक्ष चुनाव जितेर संसद् पुग्ने अवसर अहिलेसम्म कसैले पाएका थिएनन्। यसअघि स्थानीय चुनावमा नारायण नगरपालिकाको उपप्रमुखको निर्वाचनमा एमालेकी सावित्री मल्लसंग पराजित भए पनि अहिले एमालेकै उम्मेदवारलाई उछिन्दै वासनाले संघीय संसद्को यात्रा तय गरेकी छन्। पहिले स्थानीय तह निर्वाचन उठेर अनुभव बटुलेकी वासना काठमाडौंमा जन्मेर विवाह गरेपछि दैलेख गएकी थिइन्। २०५७ सालमा नेविसंघमा आबद्ध भएकी उनी त्यसको चार वर्षमै नेपाली का“ग्रेसको राजनीतिमा सक्रिय हुन थालेकी थिइन्।

कांग्रेसको १२ औं, १३ औं र १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भएकी उनी २०७८ मंसिरमा भएको १४औ“ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उठे पनि पराजित भएकी थिइन्। गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनमा सहभागी भएर पार्टीभित्र रूपान्तरण र पुस्तान्तरण हुनुपर्छ भन्ने मान्यता राख्दै आएकी वासना हजुरबुबाबाट राजनीतिमा प्रेरित थिइन्। उनका हजुरबुबा नरबहादुर थापा २०१५ सालको निर्वाचनबाट सांसद भएका थिए।