इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कारपछि हत्या भएको अभियोग लिएर अदालत पुग्यो सरकारी वकिल कार्यालय

3.01k
Shares

सुर्खेत।

परिवारको दबाब र विरोध प्रदर्शनकाबीच सुर्खेतकी इनिशा विकको सामूहिक बलात्कारपछि हत्याको मुद्दा आइतबारदेखि जिल्ला अदालत सुर्खेतमा पुगेको छ । लामो अनुसन्धान र अन्योलपछि जिल्ला सरकारी वकिल कार्यालयले आरोपित चारै जनाविरुद्ध सामूहिक बलात्कारपछि हत्याको ठहरसहित अदालतमा अभियोगपत्र दर्ता गराएको हो ।

अदालत खुल्नुभन्दा अघि नै इनिसाका परिवार र आफन्तले वीरेन्द्रनगर ७ इत्राममा अवस्थित जिल्ला अदालत जाने मुख्य सडकमा नाराजुलुशसहित धर्ना दिएका थिए । जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले भने आरोपित चारै जनाविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोग पत्र दायर गरिएको जानकारी दिनुभयो । ‘कानुनको विवादमा परेका बालकहरूले मृतकलाई जबरजस्ती करणी गरी ज्यान मारेको बारदात पुष्टि भएको देखिई निज बालकहरूले सामूहिक जबर्जस्ती करणीतर्फको मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) विपरीत उपदफा (२) र उपदफा (७) बमोजिमको कसुर अपराध गरेको तथा कर्तव्य ज्यानतर्फ मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) बमोजिमको कसुर गरेको तथ्य पुष्टि हुन आयो,’ सरकारी वकिल कार्यालयले अभियोग पत्रमा भनेको छ ।

उनीहरूविरुद्ध सामूहिक जबर्जस्ती करणीतर्फ मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) विपरित उपदफा (२) र उपदफा (७) बमोजिमको कसुरमा सोही संहिताको दफा २१९ (३) (घ) बमोजिम कैद र सोही संहिताको दफा २१९ (३क) को खण्ड (ख) बमोजिम जरिवानाको सजाय माग गरिएको छ । यस्तै, सोही संहिताको दफा २१९ को उपदफा (७) बमोजिम थप सजाय हुने ठहर अभियोग पत्रमा गरिएको छ । कर्तव्य ज्यानतर्फ सोही संहिताको दफा १७७(१) बमोजिमको कसुरमा ऐ संहिताको दफा १७७(२) बमोजिम सजाय हुने अभियोग पत्रमा दाबी गरिएको छ । सामूहिक रूपमा जबरजस्ती करणी गरी ज्यान मारेको अभियोगमा उनीहरूलाई आजन्म कैद सजायको माग अभियोग पत्रमा गरिएको छ । यस्तै, मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३क) को खण्ड (ख) बमोजिम जरिवानाबाट प्राप्त हुने रकम तथा सोही संहिताको दफा २२८ र दफा १८६ बमोजिम कानुनको विवादमा परेका बालकहरू परिवर्तित नाम ‘वीरेन्द्रनगर प’, ‘वीरेन्द्रनगर ध’, ‘वीरेन्द्रनगर न’ र ‘वीरेन्द्रनगर फ’ बाट मृतकका हकवालालाई क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।