आरसीबी सर्वाधिक महँगो आईपीएल टोली

१.७८ बिलियनमा बिकेको

0
Shares

रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) कै सर्वाधिक महँगो टोली बनेको छ । आरसीबी १.७८ बिलियन डलरमा विक्री भएपछि आईपीएलको सर्वाधिक महँगो टोली बनेको हो । यो मूल्य भनेको नेपालीमा रुपान्तर गर्दा झण्डै २५ हजार करोडभन्दा बढी रकम हुन आउँछ ।
आरसीबीको पुरुष र महिला टोलीलाई चार वटा कम्पनीले किनेको हो । आरसीबी किन्नेमा आदित्य बिरला ग्रुप, टाइम्स अफ इन्डिया ग्रुप, बोल्ट वेभर्स र ब्ल्याकस्टोन्स परपिचुअल प्राइभेट इक्विटी स्ट्रेटिजी रहेका छन् ।

आरसीबीका नयाँ स्वामित्वको साथै आदित्य बिरला ग्रुपका डाइरेक्टर आर्यमान बिरलालाई टोलीका अध्यक्षमा नियुक्ति गरियो । २८ वर्षीय आर्यमानसँग क्रिकेट र बिजनेस दुबैको अनुभव रहेको छ । उनले पहिले क्रिकेट पनि खेलिसकेका थिए । उनले पहिलो श्रेणीको क्रिकेटमा मध्य प्रदेशका लागि रणजी ट्रफी खेलेका थिए ।
आर्यमानले १६ इनिङमा ४१४ रन बनाएका थिए । जसमा, एक शतक पनि सामेल थियो । २०१८ को आईपीएल अक्शनमा राजस्थान रोयल्सले उनलाई ३० लाख भारुमा किनेको थियो । तर, उनलाई त्यति मौका मिलेन र यसपछि उनले सन् २०१९ मा क्रिकेट खेलबाट विश्राम लिएका थिए ।

यसपछि आर्यनले बिजनेसमा ध्यानकेन्द्रित गरे । सन् २०२३ मा उनी बिरला ग्रुपको टाप डिसिजन मेकिङमा सामेल भए । यसको अलावा उनी हिंदाल्को इन्डस्ट्रिज, ग्रासिम इन्डस्ट्रिज र आदिल्य बिरला फेशन रिटेलजस्ता कम्पनीका बोर्डमा पनि रहे ।

सुरुआत मूल्य कम थियो

आरसीबीलाई सन् २००८ मा विजय माल्याले १११.६ मिलियन डलरमा किनेका थिए । यो मूल्यको तुलनामा अहिलेको टोलीको मूल्य भण्डै १६ गुणा बढी रहेको छ । आरसीबीलाई सन् २०१६ मा यूएसएल कम्पनीले किनेको थियो । १० वर्षपछि यस टोलीको मालिक चार कम्पनी बन्यो ।

आरसीबीको पुरुष टोलीले गत १९ औं संस्करणमा उपाधि जितेको थियो । जुन उनीहरूको पहिलो आईपीएल उपाधिसमेत थियो । यस्तै आरसीबीको महिला टोली पनि गत संस्करणमा च्याम्पियन बनेको थियो । यो भने महिला टोलीको दोस्रो आईपीएल उपाधि थियो ।

राजस्थान रोयल्स दोस्रो महँगो टोली

आईपीएलको अर्को टोली राजस्थान रोयल्स १.६३ बिलियन डलरमा बिकेको छ । योसँगैं राजस्थान रोयल्स आईपीएलको दोस्रो महँगो टोलीसमेत बन्यो । यो टोलीलाई भारतीय मूलका अमेरिकी व्यापारी काल सोमानीले किनेका हुन् ।

यस टोलीलाई किन्न चार कम्पनी होडमा थियो । यसमा आदिल्य बिरला ग्रुप, टाइम्स अफ इन्डिया ग्रुप र केपरी ग्लोबलको दावेदारी थियो । तर, यी तीनै कम्पनीलाई पछि पारेर काल सोमानीको नेतृत्वमा रहेको कंसोर्टियमले ठूलो बोली लगाएर टोली किन्यो ।

काल सोमानी पहिले नै राजस्थान रोयल्ससँग आबद्ध भइसकेका व्यापारी हुन् । उनले सन् २०२१ मा यस टोलीमा लगानी गरेका थिए । त्यतिबेला उनले भनेका थिए–मैले यस लगानीमा धेरै संभावना देखिरहेको छु र हामी आईपीएलको भविष्यलाई लिएर उत्साहित पनि छौं ।

राजस्थान २००८ मै च्याम्पियन

राजस्थान रोयल्सले आईपीएलको पहिलो सिजन २००८ मा उपाधि जितेको थियो । त्यतिबेला अस्टे«लियाका दिवंगत महान स्पिनर शेन वार्न यस टोलीका कप्तान थिए । तर, यसपछि भने यस टोलीले राम्रो प्रदर्शन गर्न सकेन । राजस्थान एकपटक २०२२ मा फाइनल पुगेपनि गुजरात टाइटन्ससँग हारेको थियो ।

आईपीएलको कूल मूल्य

रिपोर्टअनुसार गत वर्षसम्म आईपीएलको कूल मूल्य १८.५ अर्ब डलर अनुमान लगाएको थियो । जबकी यसको रेभेन्युको अनुमान ९.५ अर्ब डलर थियो । ’द इकोनॉमिक टाइम्स’ ले इन्भेस्टमेंट बैंक ’हूलिहान लोकी’ को एक रिपोर्टअनुसार आईपीएलको भ्याल्यु वर्षेनि लगभग १३ प्रतिशतले बढेको छ । आईपीएलको कमाईको सबैभन्दा बढी हिस्सा यसको मिडिया राइट्सबाट आउँछ । २०२३ देखि २०२७ सम्मको लागि यसलाई ६.२ अर्ब डलरमा बेचिएको छ ।