काठमाडौं ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध उनकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण (ह्याबियस कर्पस) रिट दायर गरेकी छन्।
आइतबार दायर गरिएको उक्त रिट हाल अध्ययनको क्रममा रहेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार यसअघि पनि यसै विषयमा अर्को एक रिट दायर भइसकेको छ।
शनिबार बिहान प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। भदौ २३ र २४ गते भएका घटनासँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ओलीलाई प्रहरीले भर्चुअल माध्यममार्फत जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ। सरकारी वकिल कार्यालयले उनलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अनुमति माग गरेको छ।
यस घटनाले देशको राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ भने कानुनी र संवैधानिक बहससमेत तीव्र बन्न थालेको छ।











प्रतिक्रिया