काठमाडौं
काठमाडौंको न्युरोडस्थित हिमालय माध्यमिक विद्यालयमा कक्षा ८ का विद्यार्थीहरूले स्थानीय भाषा अन्तर्गत नेपाल भाषा पाठ्यक्रमअनुसार नेवार (नेवास्) समुदायको समृद्ध संस्कृति झल्काउने विशेष प्रदर्शनी आयोजना गरेका छन्।

विद्यालय परिसरमै आयोजना गरिएको उक्त प्रदर्शनीमा विद्यार्थीहरूले नेवार समुदायका वर्षभरि मनाइने चाडपर्व, पेशाअनुसार राखिने थर, परम्परागत भेषभूषा, गरगहना, पूजा सामग्री तथा दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरू प्रस्तुत गरेका थिए। बैशाखदेखि चैतसम्म मनाइने विभिन्न जात्रा तथा पर्वहरूबारे पनि जानकारी दिइएको थियो।

भाषा शिक्षकद्वय विप्लवी बज्राचार्य र यशोदा महर्जनको विशेष संयोजनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले नेवार समुदायको पूजा परम्परा, परम्परागत भान्छा संस्कृति तथा घरायसी प्रयोगका ऐतिहासिक सामग्रीहरू संकलन गरी प्रदर्शनीमा राखेका थिए। काठका भाँडा, धातुका पूजा सामग्री, परम्परागत भान्साका उपकरण तथा सांस्कृतिक महत्व बोकेका वस्तुहरूले अवलोकनकर्ताको ध्यान खिचेका थिए।

प्रदर्शनी अवलोकन गर्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूसँगै नेपालभाषा अनुगमन समितिका सदस्यहरू विद्या चित्रकार र रोशन मानन्धर पनि पुगेका थिए। उनीहरूले विद्यार्थीको प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तालाई स्थानीय भाषा र संस्कृतिसँग जोड्ने महत्वपूर्ण काम गर्ने बताएका थिए। मानन्धरका अनुसार यस्ता गतिविधिले विद्यार्थीहरूमा आफ्नो मौलिक पहिचानप्रति गर्व गर्ने भावना पनि विकास गर्छ।

विद्यालयका प्रधानाध्यापक सोनी श्रेष्ठले यस्ता प्रदर्शनीले विद्यार्थीहरूमा नेपाल भाषा र स्थानीय संस्कृतिप्रति चासो बढाएको बताउँदै सिकाइलाई व्यवहारिक बनाउने विद्यालयको प्रयास सफल भइरहेको उल्लेख गरे। सहायक प्रधानाध्यापक मीरा श्रेष्ठले अन्तिम परीक्षाको तयारीको व्यस्त समयमा पनि विद्यार्थीहरूको सक्रियतामा यो प्रदर्शनी आयोजना गरिएको र यसको सम्पूर्ण तयारी विद्यार्थीहरूले नै गरेको बताइन्।

प्रदर्शनीको अर्को आकर्षण नेवार समुदायको परम्परागत खाजा समेबजी पनि रह्यो। विद्यार्थीहरूले अवलोकनकर्तालाई समेबजी खुवाउँदै यसको सांस्कृतिक महत्वबारे जानकारी दिएका थिए। नेवार समुदायमा समेबजी केवल खाना मात्र नभई आतिथ्य र संस्कृतिको प्रतीकको रूपमा लिने गरिन्छ।

विद्यार्थीहरूले राखेको प्रदर्शनीले नेवा संस्कृतिको विविधता ,जस्तै इन्द्रजात्रा, म्हस् पूजा, गुंला पर्व, विभिन्न गुठी परम्परा, तथा कला–संस्कृतिमा नेवार समुदायको योगदानबारे पनि जानकारी दिएको थियो।विद्यालयले यस्ता सिर्जनात्मक कार्यक्रमले विद्यार्थीमा अनुसन्धान क्षमता, प्रस्तुतीकरण सीप तथा आफ्नो मौलिक संस्कृतिप्रति सम्मान बढाउने विश्वास व्यक्त गरेको छ।












प्रतिक्रिया