उदयपुरमा नेमकिपाको निर्वाचन खर्च जिरो 

564
Shares

उदयपुर ।

यही फागुन २१ भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उदयपुरका विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले निर्वाचन खर्चको फँटबारी जिल्ला निर्वाचन कार्यालयमा बुझाइ रहँदा नेपाल मजदुर किसान पार्टीबाट उदयपुरको निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका उम्मेदवार विष्णु बहादुर खत्रीले भने शून्य खर्च भएको फाँटबारी पेस गरेका छन् ।

अन्य उम्मेदवारहरुले आफूले निर्वाचनमा प्रचारप्रसार, यातायात, खाजा खाना, कार्यालय व्यवस्थापन, तथा कार्यकर्ता परिचालन लगायतका शिर्षकमा उल्लेख्य खर्च गरिरहदा नेमकिपाका खत्रीले भने फाँटबारी फारममा शून्य खर्च देखाएर फाँटबाी पेस गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी डिगम बहादुर कार्कीले बताए ।

उम्मेदवार खत्रीले फाँटबारी फारमको कैफियत महलमा पार्टीको घोषणापत्र र अन्य प्रचार सामाग्री पार्टी केन्द्रीय कार्यालयबाट प्राप्त भएकोले व्यक्तिगत रुपमा खर्च भएको छैन भनेर उल्लेख गरेर निर्वाचन खर्चको विवरण पेस गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी डिगम बहादुर कार्कीका अनुसार बिहीबारसम्ममा उदयपुरका दुबै क्षेत्रका ३१ जना उम्मेदवारहरु मध्ये १० जनाले निर्वाचन खर्च विवरण पेस गरेका छन् ।

निर्वाचन खर्च विवरण पेस गर्नेहरुमा रास्वपा बाट ३० हजार ५९० मतसहित निर्वाचित पारसमणी गेलालले जम्मा १५ लाख ५२ हजार १११ रुपैया खर्च विवरण पेस गरेका छन् । १ नं क्षेत्रबाट रास्वपाबाट निर्वाचित गेलालले आमदानी तर्फ सहयोग प्राप्त ४ लाख ७५ हजार ५ सय १४ रुपैया २ण् पैसा र आफ्नो निजी व्यवसायबाट १० लाख ७६ हजार ५९६ रुपैया आर्जन गरेको आमदानी विवरण पनि जिल्ला निर्वाचन कार्यालय उदयपुरमा पेस गरेका छन् । रास्वपाबाट निर्वाचित गेलाल उदयपुरका यातायात व्यवसायी पनि हुन्।

नेपाली कम्युनिष्ट पार्टीका बलदेव चौधरीले ९ लाख ९८ हजार, नेपाली कांग्रेसका विदुर बस्नेतले २१ लाख ४९ हजार, राप््रपाका सुभाषचन्द्र खड्काले ५ लाख २ण् हजार २८५,खर्च विवरण पेस गरेका छन् ।

यसैगरी नागरिक सर्वोच्चता पार्टीका प्रशान्त राईले १० हजार४ सय,मंगोल नेशनल अर्गनाइजेसनकाबद्री बिक्रम राईले ७० हजार खर्च गरेको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेको सूचना अधिकारी कार्कीले बताए ।

उदयपुरको निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेका अम्बर बहादुर रायमाझीले २६ लाख ६० हजार ७ सय,जनता समाजवादी पार्टी नेपालका केशब बहादुर मगरले १ लाख १० हजार खर्च विवरण पेस गरेको र अन्य दलहरुले फोन सम्पर्क गरेर निर्वाचन खर्चको विवरण बुझाउन आउने जानकारी गराएको सूचना अधिकारी कार्कीले बताए । 

निर्वाचन कानुन अनुसार प्रत्येक उम्मेदवारले निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र आफूले निर्वाचनमा गरेको खर्चको फाँटबारी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा बुझाउनु पर्दछ । नबुझाएमा निर्वाचन कानुन अनुसार २ लाख रुपैयासम्म जरिवाना हुने कानुनी व्यवस्था रहेका छ । निर्वाचन कानुन अनुसार एक उम्मेदवारले उदयपुर जिल्लामा बढीमा २९ लाखसम्म निर्वाचन खर्च गर्न पाउने व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकृत दिपक दाहालले बताउनु भएको छ ।