याङ्गो राइडद्वारा नेपालमा चालक र यात्रुका लागि निःशुल्क ‘इन–राइड’ बीमा सेवा सुरु


काठमाडौँ
विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गत सञ्चालनमा रहेको याङ्गो राइडले नेपालमा आफ्ना पार्टनर चालक तथा यात्रुका लागि कुनै अतिरिक्त शुल्क बिना ‘इन–राइड’ बीमा सेवा सुरु गरेको घोषणा गरेको छ ।

कम्पनीले सुरक्षित शहरी यातायातप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउन यो सुविधा लागू गरेको जनाएको छ ।

मार्च ३ देखि लागू गरिएको यस व्यवस्थाअनुसार याङ्गोमार्फत हुने प्रत्येक राइडमा बीमा सुविधा स्वचालित रूपमा समावेश हुने कम्पनीले जनाएको छ । प्रति राइड अधिकतम १० लाख रुपियाँसम्मको बीमा कभरेज युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ भने यसमा खल्ती सुरक्षा कम्पनीले सहकार्य गरेको छ ।

कम्पनीका अनुसार चालकले राइड स्वीकार गरेदेखि नै बीमा लागू हुनेछ भने यात्रुका लागि पिकअपदेखि ड्रप पूरा नहुँदासम्म कभरेज रहनेछ। साथै, डेलिभरी अर्डर पूरा गरिरहेका कुरियर पार्टनरहरूका लागि पनि यो सुविधा लागू हुने बताइएको छ ।

दुर्घटनाको अवस्थामा ३० दिनभित्र मेडिकल रिपोर्ट, बिल तथा सडक दुर्घटनाको हकमा प्रहरी प्रतिवेदनलगायत आवश्यक कागजातसहित युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा दाबी पेश गर्न सकिनेछ । सबै कागजात प्रमाणित भएपछि करिब १५ कार्यदिनभित्र भुक्तानी गरिने व्यवस्था गरिएको छ ।

याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले चालक, कुरियर र यात्रुको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै निःशुल्क इन–राइड बीमा सेवाले सबैलाई अझ सुरक्षित र ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यो सुविधा याङ्गोका प्रयोगकर्ता, पार्टनर चालक र कुरियरहरूलाई कुनै अतिरिक्त शुल्क नलिई उपलब्ध गराइएको हो । नेपालमा तीव्र रूपमा विस्तार भइरहेको राइड–हेलिङ बजारमा सुरक्षा र विश्वसनीयता महत्वपूर्ण बन्दै गइरहेको अवस्थामा याङ्गो राइडको यो बीमा कार्यक्रमले कम्पनीलाई यातायात सेवामा थप विश्वसनीय प्रदायकका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।