कपनमा ‘करेन्ट मार्ट’को दोस्रो आउटलेट सञ्चालन


काठमाडौँ
नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स क्षेत्रमा बलियो पहिचान बनाएको ‘करेन्ट’ ब्रान्डका उत्पादनकर्ता कम्पनी यशोदा फुड्सले आफ्नो खुद्रा बिक्री केन्द्र ‘करेन्ट मार्ट’को काठमाडौं उपत्यकाभित्र दोस्रो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले कपनस्थित रिलायन्स कलेज नजिक नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो ।

यसअघि काठमाडौंको बानेश्वरस्थित कात्यायनी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटले राम्रो सफलता प्राप्त गरेपछि तथा उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै कपनमा दोस्रो शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ ।

नयाँ शाखाको उद्घाटनको अवसरमा ‘करेन्ट मार्ट’मा उपलब्ध सम्पूर्ण उत्पादनको खरिदमा ग्राहकलाई १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

कपनस्थित नयाँ ‘करेन्ट मार्ट’को भव्य उद्घाटन यशोदा फुड्सका ग्लोबल कार्यकारी निर्देशक जी.पी. शाह र निर्देशक प्रकाश पौडेलले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको थियो । कार्यक्रममा कम्पनीका प्रतिनिधि, ग्राहक तथा शुभेच्छुकको उल्लेख्य उपस्थिति रहेको थियो ।

यस नयाँ ‘करेन्ट मार्ट’मा उपभोक्ताले यशोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण उत्पादन एकै छानामुनि प्राप्त गर्न सक्नेछन् । यहाँ करेन्ट ब्रान्डका लोकप्रिय चाउचाउ, विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोटाटो क्र्याकर्स उपलब्ध छन् । साथै चिया पारखीका लागि करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा जिरा पाउडर, धनिया पाउडर र रातो खुर्सानी पाउडर जस्ता विभिन्न मसला पनि पाइनेछन् ।

उद्घाटन कार्यक्रममा बोल्दै यशोदा फुड्सका ग्लोबल कार्यकारी निर्देशक जी.पी. शाहले बानेश्वर शाखामा उपभोक्ताले देखाएको माया र विश्वासले काठमाडौंका अन्य स्थानमा पनि छिट्टै सेवा विस्तार गर्न प्रेरित गरेको बताउनुभयो । उहाँले कपन र आसपासका उपभोक्ताले अब आफ्नै टोलबाट ताजा र गुणस्तरीय उत्पादन सहज रूपमा खरिद गर्न सक्ने उल्लेख गर्दै उद्घाटनको अवसरमा दिइएको १० प्रतिशत छुटको अफरबाट लाभ लिन पनि सबैलाई आग्रह गर्नुभयो ।

सन् २०१७ मा स्थापना भएको यशोदा फुड्स प्रा.लि. नेपालका अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने कम्पनीमध्ये एक हो। गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । ‘करेन्ट’ ब्रान्डअन्तर्गत उत्पादन गरिने विभिन्न पिरो तथा स्वादिष्ट चाउचाउ विशेषगरी युवापुस्तामाझ अत्यन्त लोकप्रिय छन् । कम्पनीले आफ्ना उत्पादन नेपालभरि मात्र नभई विश्वका २२ भन्दा बढी देशमा निर्यात गर्दै नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।