स्याङ्जा–२ मा रास्वपाको ऐतिहासिक जित, ३५ वर्षपछि कांग्रेस-एमालेको किल्ला भत्कियो


स्याङ्जा ।

स्याङ्जा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गरेको छ । कालीगण्डकी, गल्याङ, चापाकोट, भिरकोट र वालिङ नगरपालिकाको मतगणना सम्पन्न भएसँगै प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार विजयी भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार रास्वपाले २५ हजार ३५४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । नेपाली कांग्रेसले २० हजार ८३० मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भएको छ भने नेकपा एमालेले १४ हजार १०८ मतसहित तेस्रो स्थानमा रहेको छ ।

लामो समयदेखि कांग्रेस र एमालेको प्रभाव रहेको स्याङ्जा क्षेत्र नम्बर २ मा यसपटक रास्वपाले जित निकाल्दै ३५ वर्षदेखिको राजनीतिक किल्ला भत्काएको विश्लेषण गरिएको छ ।

यस जितसँगै स्याङ्जाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाले विजय हासिल गरेको छ, जसलाई जिल्लाको राजनीतिमा ठूलो परिवर्तनको रूपमा हेरिएको छ ।

मत परिणाम सार्वजनिक भएसँगै रास्वपाका कार्यकर्ता तथा समर्थकहरूले विभिन्न स्थानमा खुशीयाली मनाउन सुरु गरेका छन् भने अन्य दलहरूले पनि परिणामलाई स्वीकार गर्दै आगामी दिनका लागि रणनीति बनाउने बताएका छन् ।