काठमाडौँ
श्री स्टील्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धी निर्देशिकाहरुमा रहेको व्यवस्थाअनुसार निकट भविष्यमानियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक शेयरको निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री व्यवस्थापकको रूपमा श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
नेपालको एक प्रसिद्ध नाम श्री स्टील्स लिमिटेड एक पूर्ण स्वचालित प्लान्ट हो जसले टिःट रिबारहरुको निर्माणमा विशेषज्ञता हासिल गरेको छ । नेपाल जस्तो भौगोलिक जटिलता र भुकम्पीय जोखिम रहेको देशमा संरचना निर्माणका लागि अत्याधिक बलिया संरचनाहरु निर्माणमा ध्यान दिनुपर्ने हुन्छ । श्री स्टील्स नेपालको पहिलो ब्राण्ड हो जससँग टिःट रिबारहरुको उत्पादनका लागि सिक्स स्ट्यान्ड ब्लक मिलको अत्याधुनिक जापानी प्रविधिमा आधारित उपकरण रहेको छ ।
कम्पनीले विश्वमा उपलब्ध सबैभन्दा उत्तम प्रविधि प्रयोग गरी नेपालमा सम्भव भएसम्म उत्कृष्ठ उत्पादन गर्ने, नेपालको औद्योगिक आधारलाई बलियो बनाउने, इमान्दारी तथा निष्ठाका साथ देश निर्माणका लागि आवश्यक फलाम तथा रडजन्य पदार्थमा देशलाई आत्मनिर्भर बनाउने र रोजगारी सृजना गर्ने आफ्नो मुख्य उद्देश्य रहेको जनाएको छ ।
आज भएको सम्झौतामा श्री स्टील्स लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध संचालक श्री राजेश कुमार अग्रवाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । निष्काशन कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सोमेश अग्रवालको रोहवरमा सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।











प्रतिक्रिया