नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ जना जलनका बिरामीको उपचार


काठमाडौँ
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएको बैंकले जनाएको छ ।

शिविरमा आएका २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकले शल्यक्रिया गरेका थिए भने जटिल किसिमका १८ जना बिरामीलाई काठमाडौको सांखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको छ ।

नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल र सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा आयोजित उक्त शिविरमा सुदुरपश्चिम प्रदेशका विभिन्न ठाउँबाट बिरामीहरु उपचारका लागि आएका थिए । लामो समयदेखि उचित उपचार तथा शल्यक्रियाको पर्खाइमा रहेका तथा विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले शिविरमा निःशुल्क उपचार पाएका थिए ।

शिविरमा आएकी दुर्गा पाण्डेले शिविरमार्फत आफूले राम्रो सेवा पाएको बताउनुभयो । उहाँले शिविरमा पाँच वर्षकी छोरीको घाँटीको शल्यक्रिया गराइन् । दुई वर्षअघि तेलले पोलेर घाँटीमा समस्या भएको थियो । ‘विशेषज्ञ डाक्टरद्वारा तेलले जलेको घाउको सफलतापूर्वक शल्यक्रिया भयो । यस्तो सुविधा पाउँदा म आयोजकलाई धन्यवाद दिन चाहन्छु,’ उहाँले भन्नुभयो ।

सुषमा कोइराला मेमोरियल अस्पतालका प्रा. डा. ईश्वर लोहनीको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए । ‘जटिल किसिमका बिरामीहरु जसलाई सघन उपचारको जरुरी थियो हामीले उहाँहरुलाई काठमाडौंस्थित हाम्रो अस्पतालमा रिफर गरेका छौं,’ प्रा. डा. लोहनीले जानकारी दिनुभयो ।

नेपालमा जलनका घटनासम्बन्धी समस्या ठूलो भएको उल्लेख गर्दै प्रा.डा. लोहनीले पीडितले समयमा उपचार नपाउने, धामी झांक्री कहाँ देखाउने आदिले गर्दा घाउहरु अझै बढ्ने र थप समस्या आउने बताए । शिविरले मानिसलाई उचित उपचारबारेमा सचेत गरेको र भविष्यमा यस्ता कार्यक्रमले विपन्न वर्गका मानिसलाई अझ लाभान्वित गर्नेे उनको भनाइ थियो ।
आगो ताप्ने क्रममा दुवै हात जलेका ४२ वर्षिया भरत लुहारलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । जलन घाउको समयमै उचित उपचार नपाएर घाउमा किरा लागेपछि चिन्तित भएका उनले मद्दत माग्दै शिविरमा आइपुगेका थिए । ‘शिविरमा वरिष्ठ चिकित्सकबाट मेरो घाउको उपचार भयो र अब म थप उपचारका लागि काठमाडौं जाँदैछु,’ उहाँले भन्नुभयो ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको शिविरमा ३५ पुरुष तथा ३० महिला गरी ६५ जना सहभागी थिए । ‘नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नु पर्ने अवस्था रहेकामा नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पहिलो चरणमा सुदुरपश्चिम प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो । शिविरमार्फत पीडितहरुले उपचार पाएका छन्,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले भने । काठमाडौंदेखि गएको विशेषज्ञ चिकित्सकहरुको टोलीले उपचार गराएकाले शिविर सफल तथा एकदम प्रभावकारी भएको ज्ञवालीले बताउनुभयो । उहाँले आगामी दिनमा अन्य प्रदेशमा पनि यस प्रकारका शिविर आयोजना गर्ने जानकारी दिनुभयो ।

धेरै मानिस अझै पनि उचित उपचार नपाएर बसिरहेको र यस्ता जलन शिविरले जनतालाई जलनको अत्यावश्यक उपचार उपलब्ध भइ राहत पाइने सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताउनुभयो । जलनको उपचार सम्वेदनशील र जरुरी रहेको बताउँदै डा. पाण्डेले शिविर सञ्चालनका लागि सहयोग गरेकोमा नबिल बैंकलाई धन्यवाद दिनुभयो । उनले आगामी दिनमा पनि अझ सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

जलन शिविरका साथसाथै सेती प्रादेशिक अस्पतालमा आधारभुत जलन उपचार तालिम पनि सञ्चालन गरिएको थियो । सुषमा कोइराला मेमोरियल अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. राजु भण्डारीद्वारा अस्पतालका डाक्टर, नर्स, प्रशासनिक प्रमुख, सर्जनलगायत करिब ५० जनालाई तालिम प्रदान गरिएको थियो । डा. भण्डारीका अनुसार जलनको शल्यक्रिया गरिसकेपछि फलोअपमा आउने बिरामीहरुको उपचार गर्नका लागि अस्पतालका डाक्टर तथा नर्सको सिप विकासका लागि सो तालिम सञ्चालन गरिएको हो । “यस तालिमले जलनसम्बन्धी कुनै बिरामी आएमा, डाक्टरले जाँच गरी उचित उपचार तथा सल्लाह दिन सक्नेमा हामी विश्वस्त छौं,’ उनले बताउनुभयो ।

नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो । नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ । नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पु¥याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।