वल्डलिंक कम्युनिकेशन्सको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको आर्थिक सहयोग तथा इन्जिनियर्स विदआउट बोर्डर्ससँगको सहकार्यमा सिमरास्थित नेपाल राष्ट्रिय सेकेन्डरी विद्यालयमा ‘आई जात्रा’ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । ‘आई ल्याब’ परियोजनाअन्तर्गत विद्यार्थीले सिकेको सिपलाई व्यवहारमा उतार्ने उद्देश्यले प्रदर्शनी तथा बिक्री मेला आयोजना गरिएको हो ।
कार्यक्रममा १५ भन्दा बढी स्टलमार्फत विद्यार्थीले प्रविधि सामग्री, हस्तकला, खाद्य परिकार तथा खेल गतिविधिजस्ता सिर्जनात्मक उत्पादन र सेवा प्रस्तुत गरे। करिब छ महिनाअघि ‘आई ल्याब’ तालिम लिएका विद्यार्थीले निरन्तर अभ्यास, शिक्षकको मार्गदर्शन र समूहगत कार्यका आधारमा आफ्ना उत्पादन तयार गरेका थिए ।
वल्डलिंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विगत दुई वर्षदेखि ललितपुर, दार्चुला, स्याङ्जा र सिमरामा ‘आई ल्याब’ सञ्चालन हुँदै आएको छ । यसअघि ललितपुर र दार्चुलामा ‘आई जात्रा’ सम्पन्न भइसकेको थियो भने सिमरामा पहिलोपटक आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै वल्डलिंककी सामाजिक उत्तरदायित्व निर्देशक अनुपा भण्डारी जालानले ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा बाहिरिने अवस्थालाई उल्लेख गर्दै देशभित्रै सिप, नवप्रवर्तन र उद्यमशीलतामार्फत अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थीलाई किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक सिपतर्फ उन्मुख गराउनु समयको माग भएको उनले बताइन् ।
‘आई जात्रा’मा सहभागी विद्यार्थीले उत्पादन निर्माणदेखि बिक्रीसम्मको प्रत्यक्ष अनुभव हासिल गरेका छन् । यसले उनीहरूमा उद्यमशील सोच, नेतृत्व क्षमता र टोलीमा काम गर्ने दक्षता विकास गरेको विद्यालयले जनाएको छ । आफ्नै उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसरले आत्मविश्वास अभिवृद्धि गर्नुका साथै बजारको माग र ग्राहक व्यवहार बुझ्ने व्यावहारिक ज्ञानसमेत प्रदान गरेको छ ।
वल्डलिंकले ३१ वर्षदेखि देशभर इन्टरनेट सेवा विस्तार गर्दै आएको छ । पछिल्ला वर्षहरूमा भने सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, मानसिक स्वास्थ्य सचेतना, दुर्गम क्षेत्रमा अनलाइन कक्षा, सौर्य ऊर्जा जडान तथा सुरक्षित इन्टरनेट अभियानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।











प्रतिक्रिया